२५ असार २०८३, बिहीबार
अर्थतन्त्र चलायमान नहुँदा बजारमा मन्दी

चाडपर्वमा पनि सुस्ताएको असन: मोबाइल हेरेरै बित्छ व्यापारीको दिन, केही पसलमै निदाउँछन् !

भदौ ३१, २०८१
काठमाडौं
चाडपर्वमा पनि सुस्ताएको असन: मोबाइल हेरेरै बित्छ व्यापारीको दिन, केही पसलमै निदाउँछन् !

कुनै समयमा दैनिक एक लाखसम्मको कारोबार गर्ने काठमाडौंको असनका व्यापारी सुरेश मगर दशैंँ आउन केबल २० दिन मात्रै बाँकी हुँदा पनि मोबाइल चलाएर पसलमा बसिरहेका छन् । १३ वर्षदेखि भोटाहिटीमा ‘प्रफेक्ट द सुज’ जुत्ता पसल चलाइरहेका सुरेश दशैं आउनै लाग्दासमेत बजारमा चहलपहल नबढेकोमा चिन्तित छन् । 

 

यस वर्ष पनि दशैंमा राम्रो व्यापार हुनेमा उनी विश्वस्त छैनन् । ‘गत वर्ष भाडा तिर्नेसम्मको व्यापार भएको थियो । यो वर्ष त्यो पनि नहुनेजस्तो देखिन्छ,’ उनले भने, ‘मानिसहरूको चहलपहल पनि खासै छैन । यत्रो वर्षसम्म पसल चलाइरहँदा यस्तो व्यापारै नहुने अवस्था पहिले देखिएको थिएन ।’ 

सिन्धुपाल्चोक घर भई हाल नेपालटार बस्दै आएका मगरलाई कुनै समय खाजा खाने फुर्सद पाउँदैथे । उनी भन्छन्, ‘दिनकै लाखसम्मको व्यापार हुन्थ्यो । अहिले त सुख्खा छ । विगतका वर्षभन्दा व्यापार झन् खस्किँदै गएको छ ।’ 

५०/६० वर्ष पहिलेका बुढाबुढी अहिले असन आउँदा छक्क पर्ने गरेको उनले सुनाए । उनका अनुसार धेरै वर्ष पहिले असनको चहलपहल देखेका मानिसहरू अहिले आउँदा अचम्म पर्ने गरेका छन् ।

दिनको ५० हजारदेखि १ लाखसम्मका व्यापार गर्ने यादवप्रसाद मैनाली पनि अहिले पसलमै निदाउँछन् । काभ्रेपलान्चोक स्थायी घर भएका मैनाली असनमा ‘मैनाली फेन्सी पसल’ चलाउँदै आएका छन् । ‘कोरोनापछि एक वर्ष व्यापार रिकभरजस्तै भएको थियो । त्यसपछि हरेक वर्ष खस्किँदै गएको छ,’ उनले भने । 

null

२०८१ सालको शुरूआत नै नराम्रो भएको मैनाली सुनाउँछन् । उनका अनुसार बाटेमा ढलको कामले गर्दा २ महिना पसल ठप्प नै भएको थियो । 

‘जेठबाट बाटो खनेर बल्ल पसल खोल्न पाइएको छ । दुई महिना त पूर्ण रूपमा बाटो बन्द भयो । कारोबार त ठप्प नै थियो,’ उनले भने, ‘एकातिर दुई/तीन महिना सुख्खा भएको व्यापार चाडपर्वमा अलिक रिकभर होला भन्ने थियो । यो वर्ष त्यो पनि हुँदैन ।’

null

चाडपर्वको समयलाई हेर्दा व्यापार व्यवसाय घटेको लक्ष्मण जेन्स सेन्टरका सञ्चालक लक्ष्मण जंग बताउँछन् । उनका अनुसार कपडाहरूको व्यापार घाटामा रहेको छ । 

यसका साथै दुई महिनासम्म शून्य व्यापार भएको उनी सुनाउँछन् । लक्ष्मण भन्छन्, ‘समग्रमा भन्नुपर्दा व्यापार अहिले माइनसमा रहेको छ । भाडा तिर्न नसकेको अवस्था छ । हामी पो ३० वर्ष भयो व्यापार गर्दै आएको त्यसैले अलिक धान्न सकिरहेका छौं । पछिल्लो दुई महिना बाटोमा ढलको काम भइरहेकोले सुतेर बस्नुपर्‍यो । पूर्ण रूपमा नै पसल बन्द गर्नुपर्‍यो ।’ 

असनमा गत वर्ष व्यवसाय ठिकै भए पनि यस वर्ष खस्किएको व्यवसायीहरूले बताएका छन् । गत वर्षभन्दा केही चलायमान हुनुपर्ने बजार झन् सुस्त हुँदै गएको उनीहरूको भनाइ छ । 

यसका साथै गत माघ–फागुन महिनादेखि ढलको कामका लागि भोटाहिटी(रत्नपार्कदेखि असन चोकसम्म आउने) सडक खण्ड खन्ने काम शुरू गरिएको थियो । जेठदेखि कमलाची (जमलदेखि असन चोकसम्म) सडक खण्ड खन्न शुरू गरिएको थियो । जसले गर्दा आवतजावत पूर्ण रूपमा बन्द भयो । यस कामले गर्दा पनि व्यापार पूर्ण रूपमा बन्द बनेको व्यवसायीहरूको भनाइ छ । 

भोटाहिटी सडक खण्डको ढल बिच्छाउने काम करिब दुई महिनामा र कमलाची सडक खण्डको काम करिब डेढ महिनामा सकिएको काठमाडौं महानरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष योगेशकुमार खड्गीले बताए । अध्यक्ष खड्गीका अनुसार दुवै सडक खण्डमा ढुंगा बिच्छ्याउन काम मात्रै बाँकी छ । दशैंपछि उक्त काम सम्पन्न गरिन उनले बताए  । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा औसतमा मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । अर्थात् यदि कुनै सामान १०० रुपैयाँमा आउँछ भने उक्त सामानको मूल्यवृद्धि ५.४४ प्रतिशतले हुँदा १०५.४४ रुपैयाँ पुगेको छ । यसलाई मुद्रास्फीति अर्थात् मूल्यवृद्धि भन्ने गरिन्छ । 

null

त्यस्तै, बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन १३ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह अर्थात् लगानी ५.८ प्रतिशत मात्रै वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । 

समग्रमा चालू आर्थिक वर्ष २०८१/८२ को शुरूआती समयदेखि मूल्यवृद्धि बढ्दै गएको देख्न सकिन्छ भने व्यापार व्यवसायमा पनि खास्सै उत्साह नदेखिएको व्यवसायीहरूले बताउँदै आएका छन् । 

अहिले आर्थिक गतिविधि शिथिल अवस्थामा रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल बताउँछन् । उनका अनुसार सेयर बजारले केही हलचल गरेजस्तो गरे पनि वास्तविक उपभोक्ता बजारमा मन्दी कायम नै छ । 

‘चाडपर्वको समयमा मात्रै वर्षभरिको ४० प्रतिशत व्यापार हुँदै आएको थियो । जुन अहिले छैन । सटरहरू पनि धाम धम बन्दै भएको प्रस्टै देखिन्छ,’ अध्यक्ष अग्रवालले भने, ‘बजार चलायमान बन्नुपर्ने हो तर, छैन । व्यवसायीहरू निराश हुँदै गएका छन् ।’ 

null

चाडपर्वको समयमा पनि व्यापार नहुनुको अर्को कारण युवाहरू विदेश पलायन हुनु रहेको अध्यक्ष अग्रवालको तर्क छ । अग्रवालका अनुसार उपभोग गर्ने वर्ग अर्थात् खर्च गर्ने वर्ग नै विदेशतिर छन् । जसले गर्दा बजारमा आर्थिक गतिविधि बढ्न सकेको छैन । 

‘कोरोनापछि सरकारले निजी क्षेत्रलाई सुविधा दिएर माथि उकास्ने प्रयास गरेको थियो । तर, २०७९/८० को नीतिमार्फत् व्यवसायीहरूलाई दबाउने काम गरियो,’ उनले भने, ‘र त्यसयता अहिलेसम्म अर्थतन्त्रमा सुधार देखिएको छैन । युवा वर्ग पनि विदेशिँदै गर्दा देशको अर्थतन्त्रमा ठुलो योगदान भएको छैन । साँच्चिकै भन्नुपर्दा चाडपर्व आउँदै गर्दा व्यवसायीहरूमा भने कुनै उत्साह छैन । बजारको वास्तविकता यही हो ।’

salt training

कमेन्ट गर्नुहोस्