
भारतको राजधानीसमेत रहेको दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले आज पदबाट राजीनामा दिने भएका छन् । दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) विनय सक्सेनाले अपरान्ह ४:३० बजे मुख्यमन्त्री केजरीवाललाई भेट्ने समय दिएका छन् । सक्सेनासँगको भेटमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामादिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसअघि दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया केजरीवाललाई भेट्न उनको घर पुगेका थिए । स्रोतका अनुसार दुई नेताबीच आगामी मुख्यमन्त्रीको विषयमा छलफल भएको थियो ।
सेप्टेम्बर १३ मा मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
केजरीवालको राजीनामाको घोषणापछि आतिशी, कैलाश गहलोत, गोपाल राई र सुनिता केजरीवालमध्ये कुनै एक दिल्लीको मुख्यमन्त्री बन्न सक्ने चर्चा छ ।
१७७ दिनपछि रिहा भएका केजरीवालले १५६ दिन जेलमा बिताएका थिए । केजरीवाललाई मार्च २१ मा ईडीले मदिरा नीति मामिलामा मनी लान्ड्रिंग मुद्दामा पक्राउ गरेको थियो । १० दिनको सोधपुछपछि उनलाई १ अप्रिलमा तिहाड जेल पठाइएको थियो । मे १० मा, उनी लोकसभा चुनावको प्रचारका लागि २१ दिनको लागि रिहा भएका थिए । ५१ दिन जेलमा बिताएपछि उनी रिहा भएका हुन् ।
केजरीवालको सम्पूर्ण ध्यान अब हरियाणाको चुनावी प्रचारमा केन्द्रित हुनेछ । हरियाणामा अक्टोबर ५ मा मतदान हुँदैछ। आम आदमी पार्टीले राज्यमा कांग्रेससँग गठबन्धन गरेको छैन । पार्टीले सबै ९० सिटमा उम्मेदवार खडा गरेको छ । केजरीवालले जम्मू कश्मीर विधानसभा चुनावमा पनि प्रचार गर्न सक्नेछन् ।