३१ असार २०८३, बुधबार

लेबनानमा हिजबुल्लाहले प्रयोग गरेका उपकरण विस्फोट अपडेटः ३७ जनाको मृत्यु, २९ सयभन्दा बढी घाइते

असोज ३, २०८१
काठमाडौं
लेबनानमा हिजबुल्लाहले प्रयोग गरेका उपकरण विस्फोट अपडेटः ३७ जनाको मृत्यु, २९ सयभन्दा बढी घाइते
तस्वीरः गेटी इमेज्स् ।

यो साता लेबनानमा हिजबुल्लाहले प्रयोग गरेका सञ्चार उपकरण (पेजर र वाकी–टाकी आदि) विस्फोट हुँदा ३७ जनाको मृत्यु भयो भने दुई हजार नौ सयभन्दा बढी घाइते भए ।

दुई दिनसम्म भएका यी विस्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ । उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र बदला लिने प्रतिज्ञा गरेको छ । 

हिजबुल्लाहका नेता हसन नसरल्लाहले बिहीवार राष्ट्रलाई सम्बोधन गर्ने योजना बनाएका छन् । कुनै प्रतिक्रियाको सङ्केत पाउन सकियोस् भनेर धेरैले उनको भाषणलाई ध्यानपूर्वक सुन्ने आशा गिरएकाे छ ।

जानाैँ आक्रमणहरूका बारेमा:

के भयो ?

मङ्गलवार हिजबुल्लाहका कार्यकर्ताहरूले बोकेको सयौँ पेजर दक्षिण बेरुत, पूर्वी लेबनान र मुलुकको दक्षिणमा समूहको गढमा लगभग एकै समयमा विस्फोट भए ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बिहीवार ती विस्फोटले दुई बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको र दुई हजार तीन सय २३ जना घाइते भएको जानकारी दिए ।  

उनले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बुधवार हिजबुल्लाहको नियन्त्रणमा रहेको क्षेत्रमा भएको अर्को विस्फोटको लहरमा यसपटक वाकी–टाकीहरू विस्फोट हुँदा २५ जनाको मृत्यु भयो भने ६ सय आठ जना घाइते भए । 

हिजबुल्लाहले आफ्ना २५ सदस्यको मृत्यु भएको घोषणा गरेको छ । समूहको निकट स्रोतले वाकी–टाकी विस्फोट हुँदा कम्तीमा २० सदस्यको मृत्यु भएको बताएको छ । 

एएफपीटीभी फुटेजले एउटा विस्फोटको समयमा दक्षिण बेरुतमा अघिल्लो दिन पेजर विस्फोटमा मारिएका हिजबुल्लाह लडाकूहरूको अन्त्येष्टि समारोहका क्रममा मानिसहरू आश्रय खोज्दै दौडिरहेको देखाइएको छ ।

हालैका महिनाहरूमा इजरायली आक्रमणहरूमा धेरै प्रमुख कमान्डरलाई गुमाएपछि हिजबुल्लाहलाई पहिलादेखि नै आफ्नो सञ्चारको सुरक्षालाई लिएर चिन्ता थियो ।

तर आक्रमणहरूको प्रकृतिले हिजबुल्लाहका गढहरूमा मात्र नभएर सम्पूर्ण लेबनानमा आतङ्कको भावना सिर्जना गरेको छ ।

के भनेको छ इजरायलले ?

इजरायलले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । यद्यपि पहिलो विस्फोटको लहरअघि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमाससँग आफ्नो युद्धको लक्ष्यलाई विस्तार गर्दै लेबनानसँगको उत्तरी मोर्चा सुरक्षित गर्ने निर्णय गरेको घोषणा गरेको थियो ।

हमासको अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासद्वारा बन्धक बनाइएका सयौँ मानिसलाई फिर्ता ल्याउने र हमासलाई समाप्त पार्ने प्रतिज्ञा गरेको थियो । 

अक्टोबरपछि हमासको सहयोगी हिजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरिरहेको छ ।

औपचारिक रूपमा युद्धको घोषणा नगरिएको भए पनि लेबनानको मोर्चामा भएका झडपहरूले लेबनानमा अधिकांश लडाकूसहित सयौँको मृत्यु भएको छ भने इजरायली पक्षमा सैनिकसहित दर्जनौँ मरेका छन् । यी झडपले दुई पक्षका हजारौँ मानिसलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले बुधवार आफ्नो देशको उत्तरी सीमाका सन्दर्भमा भने, ‘गुरुत्वाकर्षणको केन्द्र उत्तरतिर बढिरहेको छ ।’

कसरी गरिएको थियो आक्रमण ?

आक्रमणहरूको प्रभावकारिता यसको असामान्य प्रकृतिबाट उत्पन्न भएको छ । यसमा हिजबुल्लाहको सञ्चार उपकरणहरूलाई हतियारमा रूपान्तरण गरिएको थियो ।

विश्लेषकहरूका अनुसार विस्फोटक सामग्रीहरू हिजबुल्लाहसम्म पुर्याउनुअघि सम्भवतः पेजरमा राखिएका थिए ।

एक सुरक्षा अधिकारीका अनुसार लेबनानी अनुसन्धानका प्रारम्भिक निष्कर्षले पेजरहरूलाई ‘ट्र्याप’ पारिएको पत्ता लगाएको छ ।  

‘उपकरणहरू पूर्व–प्रोग्राम गरिएको थियो र ब्याट्रीको नजिक विस्फोटक सामग्री राखिएको थियो भन्ने डेटाले देखाउँछ,’ संवेदनशील विषयमा चर्चाका लागि नाम नछाप्ने शर्तमा ती अधिकारीले भने । 

हिजबुल्लाहसँग निकट स्रोतले नाम उल्लेख नगर्ने शर्तमा पेजरहरू ‘हालै आयात गरिएको’ र ‘स्रोतमा तोडफोड गरिएको’ जस्तो देखिएको बतायो ।

न्युयोर्क टाइम्सले बुधवार विस्फोट भएका पेजरहरू ताइवानी निर्माता गोल्ड अपोलोबाट अर्डर गरिएको रिपोर्ट गरेपछि कम्पनीले उसको पेजरको उत्पादन हङ्गेरीको साझेदार बिएसी कन्सल्टिङ केएफटीले गरेको बताएको छ । 

बुडापेस्टमा सरकारी प्रवक्ताले कम्पनी ‘हङ्गेरीमा कुनै निर्माण वा सञ्चालनस्थल नरहेको एक व्यापारिक मध्यस्थ थियो’ भनेका छन् ।

जापानी कम्पनी आइकमले बुधवारको विस्फोटमा प्रयोग भएको भनिएको वाकी–टाकी मोडेलको उत्पादन लगभग १० वर्षअघि रोकिएको जानकारी दिएको छ ।

के विस्फोटमा इजरायलको हात थियो ?

केही इजरायली मिडिया आउटलेट र विशेषज्ञले पेजर आक्रमणलाई मोसादको कारवाहीको स्पष्ट सङ्केत भनेका छन् । गुप्तचर एजेन्सी मोसाद सन् १९७० को दशकको प्रारम्भमा म्युनिख ओलम्पिकमा ११ इजरायली एथलिटको मृत्युमा संलग्न व्यक्तिहरूको प्रतिशोधपूर्ण हत्याजस्ता काम सम्पन्न गरेपछि प्रसिद्ध भएको छ ।  

अमेरिकाको यहुदी राष्ट्रिय सुरक्षा संस्थानका जोन हान्नाले पेजर आक्रमणलाई ‘इजरायली गुप्तचर क्षमताको अर्को आश्चर्यचकित प्रदर्शन’ भनेका छन् ।

‘मोसादले आफ्नो सबैभन्दा खराब विरोधीहरूको सबैभन्दा संवेदनशील नेटवर्कमा गहिराइसँग प्रवेश गर्न बारम्बार क्षमता प्रदर्शन गरेको मात्र नभई उसले चाहेजस्तो सटीकता र मृत्युको अत्यधिक क्षमतासहितका अपरेसनलाई कार्यान्वयन गर्न पनि सक्षमता देखाएको छ,’ उनले भने ।

यो घटना अक्टोबर ७ को आक्रमणको लगभग एक वर्षपछि आएको हो । उक्त आक्रमणलाई रोक्न असफल भएपछि इजरायली गुप्तचर सेवाहरूलाई ठूलो धक्का दिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्