
गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेका छन् ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआईजी जोशीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
उनलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लैजाने तयारी भइरहेको उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए ।
ति अधिकृतका अनुसार सहकारी ठगी छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन सञ्चालक समितिका सदस्यसमेत रहेका जोशीलाई कारबाहीको सिफारिस गरेको थियो ।
गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका पार्टनर जोशीले समितिमा समेत बयान दिएका थिए ।
संसदीय छानबिन समितिलाई जोशीले गोरखा मिडियाका लागि ऋण खोज्न रवि लामिछाने र आफू बैंक गएको बयान दिएका थिए । पत्नीको नाममा रहेको घर धितो राख्न भनेपछि आफू सहमत नभएको उनले बताएका समितिको प्रतिवेदनमा उल्लेख छ ।
‘मेरो नाममा ३५ प्रतिशत शेयर कायम गरी रवि लामिछानेका नाममा १५ प्रतिशत र जीबी राईको नाममा ५० प्रतिशत शेयर रहने गरी चुक्ता पुँजी ५ करोड रुपैयाँबाट १२ करोड बनायाैं,’ बयानमा जोशीले भनेका छन्, ‘त्यसपछि कम्पनीको लागि ऋण लिने प्रक्रियामा नेपाल बैंकको न्युरोड शाखामा रवि र म लेखा प्रतिनिधि गएका थियौं ।’