
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन् ।
ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए ।
'सबस्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,' ऊर्जामन्त्री खड्काले भने ।
त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।
यसैबीच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।