
एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर अनुमानित गरिएको भन्दा बढी भएको जनाएको छ ।
बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ रहेको र २०२५ को सेप्टेम्बरसम्म यो आंकडा बढेर ४.९ प्रतिशत पुग्ने अनुमान गरेको हो ।
उक्त प्रतिवेदनमा यसअघि यो सेप्टेम्बरसम्मको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएकोमा ३.९ प्रतिशत कायम गरेर नेपालले अपेक्षाभन्दा बढी वृद्धिदर हासिल गरेको बताइएको छ ।
यसरी अपेक्षा भन्दा बढी वृद्धिदर हुनुमा कृषिजन्य उत्पादनमा आएको वृद्धि, पर्यटनमा सुधार, विद्युत उत्पादनमा सुधार, पूर्वाधार संरचनाको निर्माणमा तीव्रता र राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको सहजीकरण मुख्य कारक रहेको एडीबीले जनाएको छ ।
२०२५ को सेप्टेम्बरमा नेपालले हासिल गर्ने अपेक्षाकृत वृद्धिदरमा केही चुनौती पनि रहेको एडीबीको भनाइ छ ।
मध्यपूर्वको द्वन्द्वले रेमिट्यान्समा कमी आउन सक्ने चुनौती उक्त प्रतिवेदनले औंल्याएको छ भने विश्वव्यापी मन्दीका कारण नेपालको पर्यटन क्षेत्र पनि प्रभावित हुन सक्नेछ ।
यससँगै बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण पनि नेपालको आर्थिक वृद्धिदरमा केही असर पर्न सक्ने एडीबीले जनाएको छ ।