
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघ (यूएन)को आव्हानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनान र यूएनडोफ मिसन सिरियाको वर्तमान सुरक्षा स्थिति तथा विविध पक्षबारे जानकारी लिएका छन् ।
प्रधानसेनापति सिग्देलले शुक्रवार भर्चुअल माध्यमबाट जानकारी लिएका हुन् ।
साे अवसरमा उनले लेबनानका फोर्स कमान्डर र सिरियाका डेपुटी फोर्स कमान्डरसँगै सिनियर नेसनल अधिकृतसँग पछिल्लो सुरक्षास्थिति र विकसित घटनाक्रमहरूका बारेमा जानकारी मागेका थिए ।

सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न आग्रह गरे । त्यसका लागि तयारी अवस्थामा रहन र धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न पनि उनले निर्देशन दिए ।
उनले प्रतिकूल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।