
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो विपद् (बाढीपहिरो)बाट यस प्रकारको क्षति होला भन्ने अनुमान सरकारले नगरेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विपदको पूर्वतयारी गरेपनि क्षति मूल्यांकन गर्न नसकेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यसखालको विपद् सरकार र राज्यको मात्रै नभएर समग्र नेपालीकै समस्या भएकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए ।
‘जनताले भोगिरहेको पीडामा उद्धार, राहत र पुनःस्थापनामा सरकार जुटिरहेको छ । यतिबेला सबै नेपाली एक हुनुपर्छ । साझाबिपत्तिको सामना गर्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले बिपत्तिले कुनै राजनीति वा व्यवस्थालाई मर्कामा नपर्ने बताउँदै भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘केही राम्रा काम पनि भएका छन् । चार हजारभन्दा बढी मानिसको उद्धार भएको छ । उहाँहरूको जीवन त बचायौं नि !’, उनले थपे, ‘कमीकमजोरी सच्याउनुपर्छ । यो राज्यको मात्रै विषय होइन । यो सिंगो समाजको विषय हो ।’