२७ जेठ २०८३, बुधबार

विष खुवाएर दुई नाबालिग छोरीको हत्या गरेकी महिला जेल चलान

असोज १७, २०८१
विराटनगर
विष खुवाएर दुई नाबालिग छोरीको हत्या गरेकी महिला जेल चलान

दुई छोरीलाई विष खुवाएर हत्या गरेकी महिला पुर्पक्षका लागि कारागार (जेल) चलान भएकी छिन् । विष खुवाएर नाबालिका दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता पौडेल (कार्की) बिहीवार पुर्पक्षका लागि कारागार चलान भएकी हुन् । 

मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलवार अस्मितालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर दुई नाबालिका छोरीको हत्या गरेपछि अस्मिता फरार भएकी थिइन् । अस्मितालाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको थियो । 

पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरू गरेको थियो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति अर्जुन कार्कीसँग विवाद भएपछि छोरीहरू तीन वर्षकी अर्पण र एक वर्षकी आइकालाई लिएर अस्मिता भदौ १४ गते साँझ हिँडेकी थिइन् । दुवै नाबालिका भोलिपल्ट अर्थात् भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए ।

दुई बालिकाको शव फेला परेको स्थानमा किटनाशक औषधिको बट्टा फेला परेको थियो । अस्मिताले विष खुवाएर नाबालिका छोरीहरूको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि छोरीहरूलाई पनि मार्ने र आफू पनि मर्ने योजना बनाएर घरबाट हिँडेको उनले प्रहरीलाई बयान दिएकी छिन् । छोरीहरूलाई विष खुवाएपछि आफूले पनि खाएको उनले बयानमा भनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्