
बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
२०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो ।
नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताए ।
यो पुल निर्माण भएपछि आवागमनको लागि पूर्व–पश्चिम राजमार्ग पुग्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ ।
बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँ तथा कोहलपुर–१५ मा पर्ने चौधरीयालगायतका गाउँका स्थानीयवासी पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
कोहलपुर– १५ र बैजनाथ – ५ र ७ का जनतालाई आवागमनमा सहजताको लागि सङ्घीय सरकारको रु सात करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद सूर्य ढकालले बताए ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पेडारीमा पक्की पुल निर्माण भएपछि कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडावासीलाई आवतजावतमा धेरै सहज हुने बताए ।