
भारतको नयाँ दिल्लीबाट आएको विस्तारा एयरको विमानमा बम राखिएको हल्लापछि नेपाली सेनासहितको टोलीले विमानमा सर्च गरेको छ ।
विमानबाट आएका सबै यात्रुको लगेज चेक गरिएको विमानस्थल स्रोतले जानकारी दियो । लगेजमा पनि केही नभेटिएको स्रोतले बतायो ।

मंगलवार अपरान्ह नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरको विमानमा बमको हल्लापछि सेना, प्रहरी लगायतले सर्च गरेका हुन् ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले ४ बजेर २७ मिनेटमा ल्याण्ड भएको विमानमा बमको हल्लापछि बम डिस्पोजल टोलीसहित सर्च गरिएको यसअघि लोकान्तरलाई जानकारी दिएका थिए ।
‘दिल्लीबाट आएको विमानमा बमको हल्ला पछि हामीले सर्च गरेका छौं । १५७ जना यात्रु झारेर खोजी भइरहेको छ,’ केसीले लोकान्तरसँग भनेका थिए ।
अज्ञात नम्बरबाट त्रिभुवन विमानस्थलस्थित जहाजमा बम राखिएको हल्ला आएको थियो । पछिल्लो समय भारतीय विमानमा बम राखेको हल्लाले अन्तर्राष्ट्रिय उडानहरूसमेत प्रभावित भएका थिए ।
विमानमा बमको हल्लापछि विमानस्थलमा केहीबेर उडान प्रभावित भएको थियो ।

विमानमा बमको धम्की पछि मंगलवार इन्डिगो, विस्तारा र एयर इण्डियाका ३० भन्दा बढी उडान प्रभावित भएको भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । धम्की दिनका बाबजुद कुनैपनि विमानमा बम फेला नपरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।