
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले १०० दिनमा लक्ष्य लिएकामध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । १७ वर्षदेखि बाँकी रहेको शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पुर्याउन आफू सफल भएको उनले बताए ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले १०० दिनमा सहकारी ठगमाथि कारबाही अगाडि बढेको तथा अर्थतन्त्रमा सुधारको संकेत देखिँदा व्यवसायी उत्साही भएको दाबी गरे ।
००००
सहकारी प्रकरणमा संसदीय विशेष छानबिन समितिको निर्देशनअनुसार कारवाही प्रक्रियाअघि बढाउँदा प्रश्न उठाउनु राम्रो नभएको सत्तापक्षले जनाएको छ ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तापक्षको बैठकले संसदीय समितिमा रहेका दलले नै कारवाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउने नैतिक अधिकार नहुने निष्कर्ष निकालेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणको विषयलाई लिएर फौजदारी अभियोगको छानबिन भइरहँदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य नहुने उनले बताए ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता समीकरण २०८४ सम्मै जाने भन्दै ढुक्क भएर काम गर्न प्रधानमन्त्री केपी ओलीलाई आश्वस्त गराएका छन् । सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले डाकेको बैठकमा देउवाले समीकरण आगामी निर्वाचनसम्मै जाने भन्दै ओलीलाई आश्वस्त बनाएका हुन् ।
००००
सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोलनमा छ ।
कास्कीको पोखरामा केन्द्रित भएर रास्वपाका नेता कार्यकर्ता सरकार एवं ठूला राजनीतिक दलविरुद्ध नाराबाजीमा उत्रिएका छन् । रास्वपाले सोचेअनुसार प्रदर्शनमा जनसहभागिता देखिएको छैन ।
उर्दी नै जारी गरेर पूर्वदेखि पश्चिमसम्मबाट बोलाइएका केही सय कार्यकर्ता र पार्टीको सिंगो नेतृत्व पंक्तिको भरमा आन्दोलन चलिरहेको छ ।
००००
वरिष्ठ अधिवक्ता तथा राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले आफूविरुद्ध बिनातथ्य भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
केही सञ्चारमध्यमले आफू र आफ्नो भाई, प्रहरी महानिरीक्षक बसन्त कुँवरको नाम जोडेर भएको प्रचारबाजी तथ्यरहित, भ्रमपूर्ण र अतिरञ्जित रहेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा कानूनी व्यवसायमा कुनै पनि संस्था वा कम्पनीलाई कानूनी सल्लाह दिने तथा पक्ष विपक्षमा बहस पैरवी गर्ने अधिकार संविधान र कानूनी हकले दिएको उल्लेख गरेका छन् ।
००००
नेपाली कांग्रेसको सूचना तथा प्रचार विभागले सहकारी ठगी प्रकरणको अनुसन्धानमा उच्छृङ्खल गतिविधि नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सचेत गराएको छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलन गरेर निष्पक्ष, अनुसन्धान र न्यायिक निरुपणको प्रक्रियालाई बाधा नर्पुयाउन सचेत गराएका हुन् ।
००००
विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन भन्दै परराष्ट्र मन्त्रालयले गरेको पत्राचारको संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वागत गरेका छन् ।
परराष्ट्रले कात्तिक १ गते सर्वोच्च अदालतको गत चैत १ गतेको फैसलाअनुसार एनआरएनएको एकताको महाधिवेशन गराउन भन्दै पत्राचार गरेको थियो । विवादित अवस्थामा रहेको एनआरएनए हाल तीन भागमा विभाजित छन् ।
यस्तो अवस्थामा पूर्वअध्यक्ष महतोले अदालतले नै एकताको महाधिवेशन गर्न भनिदिएपछि सबैलाई सजिलो हुने र फेस सेभको पनि अवसर पनि मिलेको प्रतिक्रिया दिए ।
००००
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तोकिएको समयमा सरकारलाई स्पष्टीकरण बुझाएका छैनन् । समयसीमाको अन्तिम दिन बुधवार पनि उनले स्पष्टीकरण नबुझाएका हुन् ।
स्पष्टीकरण बुझाउने अन्तिम दिन बुधवार घिसिङले दशैँ बिदाका कारण समयमा स्पष्टीकरण बुझाउन असमर्थ रहेको बताउँदै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेखेका छन् । जहाँ थप १५ दिनको समय माग गरिएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधवार प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि आफूहरू शीतल निवासमा आएको प्रतिपक्ष दलहरूका प्रतिनिधिले बताए ।
००००
कमान्ड कन्ट्रोल गर्न नसकेको आरोपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन् । गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई तानेर मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रलाई पठाएको छ ।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहनलगायत अवाञ्छित गतिविधि गर्दा सीडीओ र एसपीले कन्ट्रोल गर्न नसकेको आरोप छ ।
००००
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कहरूले १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २० वाणिज्य बैङ्कहरूले १६ अर्ब २३ करोड १९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको समीक्षा गर्नुपर्ने अवस्था नै नरहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको आरोप लगाएका हुन् ।