
गएको असोज ११ र १२ गते भारी वर्षा हुँदैछ भन्ने पूर्व सूचना जल तथा मौसम विभागले केही दिन पहिलादेखि दिइरहेको थियो । सोहीअनुसार कतिपय निकायले आफ्नो पूर्व तयारी गरे, तराईका नगरपालिकाले किसानलाई धान नकाट्न गाउँ-गाउँमा सूचना गरे ।
नेपालमा ठूलो वर्षा हुँदैछ भन्ने जानकारी राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा भइसक्दा नेपाल विद्युत् प्राधिकरणले कुलेखानीमा कुनै तयारी गरेन ।
फलस्वरूप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नै बगायो । सिस्नेरीका ३० वटा घरसहित इलाका प्रहरी कार्यालय भवन पनि बगायो ।
विद्युत् प्राधिकरणको नेतृत्वको गलत निर्देशनका कारण समयमै कुलेखानी ड्यामका ढोका नखोलिँदा सिस्नेरी बजार बगाउने खालको बाढी आएको स्यानीयहरूको भनाइ छ ।
कुलेखानीको ड्याम खोल्दा भएको क्षतिबारे छानबिन गर्न उर्जा मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्यो । गोकर्णराज पन्त संयोजकत्वको समितिले स्थलगत अध्ययन गरिरहेको छ ।
ड्यामको गेट खोलेको गलत समय र तरिकाका कारण तल्लो तटीय क्षेत्रमा क्षति भएको विद्युत् प्राधिकरणका केही पूर्व निर्देशक र कार्यकारी प्रमुखहरूको धारणा छ ।
उर्जा मन्त्रालय स्रोतका अनुसार कुलेखानी आयोजनाप्रति चासो राख्ने पूर्व हाकिमले अहिले कुलेखानीको जिम्मेवारीमा रहेका प्राधिकरणका उच्च तहका अधिकारीलाई सम्पर्क गरेर सम्भावित क्षतिबारे जानकारी गराएका थिए । तर पनि समयमै ड्यामको गेट खोलिएन ।
कुलेखानीको सतह बेसरी बढ्न लागेको भनेर असोज १२ गते सल्लाह भएको थियो । कुलेखानी आयोजनामा काम गरेका पूर्व प्रमुखले पानीको १ हजार ५२६ मिटर लेभल पुगेपछि पानी बढ्ने क्रम लगातार अनुगमन गर्ने र १ हजार ५२८ मिटर माथिबाट विस्तारै गेट खोल्नु भन्ने सल्लाह दिएका उर्जा मन्त्रालय स्रोत बताउँछ ।
सोहीअनुसार जिम्मेवार अधिकारीले आफूभन्दा माथिल्लो निकायलाई सोधेका थिए । तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानीमा पानीको सतह १ हजार ५३० मिटर नपुगेसम्म गेट नखोल्न कडा निर्देशन दिएका थिए ।
अत्यधिक वर्षा हुने सबैतिरबाट प्रक्षेपण भइसक्दा पनि प्राधिकरण नेतृत्वको लापरबाहीका कारण दुर्घटना हुन पुगेको उर्जा मन्त्रालय स्रोत बताउँछ । ‘यो लापरबाही मात्र होइन आपराधिक लापरबाही हो,’ उर्जा मन्त्रालय स्रोत भन्छ ।
पानीको सतह १५३० मिटरसम्म पर्खेर बस्दा एकातिर खोलाको डिस्चार्ज बढेकाले ड्याम भत्कने डर तथा स्पिलवेबाट पुरै डिस्चार्ज नहुने भन्ने डरले गेट खोलिएको थियो ।
पूर्वप्रमुखहरूको सल्लाहअनुसार भारी वर्षाको अवस्था देखेर १ हजार ५२८ मिटरमा नै विस्तारै ड्याम खोलेको भए त्यो क्षति नहुने उर्जा मन्त्रालयको निष्कर्ष छ ।
‘प्राधिकरणमा कुलमानको अधिनायकवादी शैलीका कारण कारबाही हुने डरले पानीको सतह १ हजार ५२८ मिटर पुग्दा पनि ड्याम खोलिएन । फलस्वरूप यस्तो घटना भएको देखिन्छ,’ उर्जाका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।