
दाङका लोकेन्द्र रोका मगर पुराना पुष्प व्यवसायी हुन् । १२ वर्षदेखि फूल खेती गर्दै आएका उनी बाह्रै महिना फूल उत्पादन गर्ने युवा किसानमा पर्छन् ।
घोराही उपमहानगरपालिका– १४ झिगौरामा रहेको जलजला पुष्पखेती तथा नर्सरीबाट उनले हरेक वर्ष १२/१५ लाखका फूल र माला बिक्री गर्दै आएका छन् ।

फूलखेतीमा लामो अध्ययन र अनुभव बटुलेका रोकालाई तिहारका बेला २ बिगाहा जग्गामा उत्पादन भएको फूल बिक्रीका लागि भ्याइनभ्याइ छ ।
‘अहिले तिहारभरमा १५ लाख रुपैयाँको फूल बिक्री गर्ने लक्ष्य छ,’ रोका भन्छन्, ‘गत वर्ष राम्रो उत्पादन थियो । अन्तिममा राम्रो बजार पाएँ । यो वर्ष तिहार शुरू हुनभन्दा एक साता अघिदेखि नै बिक्री गरिरहेको छु ।’
उनले तिहारलाई मात्र होइन, मेला महोत्सव, विभिन्न कार्यक्रम र धार्मिक गतिविधिका लागि पनि फूल बेच्ने गरेका छन् । फूलको माग र बजार अध्ययन गरेर अन्य खाद्य बाली उत्पादन गर्न छाडी फूल खेती रोजेका उनी दीर्घकालीन फूलको बजार र उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र बनाउनुपर्ने आवश्यकता देख्छन् ।
६ वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आइरहेकी पाल्पा– ८ मदनपोखराकी सुमित्रा कँडेलको फूलबारीमा सयपत्री र मखमली फूल ढकमक्क छन् ।

बगैँचामा जाँदा नै आनन्द हुने भएकाले सेल्फी र भिडियो खिच्नेको भीड लाग्ने गर्छ ।
कर्मा– ५५५ जातको सयपत्री र मखमली फूल लगाएकी कँडेलले अहिले फूल प्रतिकिलो ३०० र माला प्रतिगोटा १५० मा बिक्री गरिरहेकी छिन् । कँडेलले उत्पादन गरेको फूल स्थानीय बजार मात्र होइन, बुटवलसम्म आइरहेको छ । तिहारमै फूल बेचेर ३ लाख रूपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ ।
विगत ८ वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका गुल्मीको रेसुङ्गा– ६ का प्रेम नेपालीले रेसुङ्गा र धुर्कोट–४ को सिमाना सीमाघाटमा जग्गा भाडामा लिएर फूल लगाएका छन् । फूल खेतीबाट उत्साहित उनले अहिले २ लाख ५० हजारसम्मको फूल र माला बिक्री गरिरहेका छन् ।
अझै १ लाख बराबरको व्यापार तिहारअगाडि नै गर्ने उनको विश्वास छ । गत वर्ष फागुन/चैत महिनासम्म फूल बिक्री गरेका उनले बेमौसमी फूलखेतीलाई विस्तार गर्ने योजना बनाएका छन् । पूर्वी पाल्पाको रामपुर– ४ देवीस्थानका दिलबहादुर थापा मगरले व्यावसायिक फूलखेती शुरू गरेको ६ वर्ष भयो ।
लामो समय वैदेशिक रोजगारीमा बिताएका मगरले यो वर्ष करिब ४ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । पछिल्लो समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला मगरले शुरू गरेको फूलखेतीले छोटो समयमा धेरै चर्चा बटुलेको छ ।
पश्चिम नवलपरासीको बर्दघाटका दुई युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती शुरू गरेका छन् ।
बर्दघाट नगरपालिका– २ आम्बासका खुमकान्त न्यौपाने र रमेश पाण्डेय ७ कट्ठा क्षेत्रफलमा व्यावसायिक फूलखेतीमा जुटेका छन् । उनीहरू कृषि र पशु स्वास्थ्य प्राविधिक हुन् । अध्ययन पूरा गरेपछि आफ्नै ठाउँमा आफूले सिकेको ज्ञान सीप प्रयोग गरी कृषि कर्म शुरू गरेको न्यौपानेले बताए ।
‘पहिलो वर्षको उत्पादनबाट सन्तुष्ट छौं । यस वर्ष ५ देखि ६ हजार माला बिक्री गर्ने लक्ष्य छ । आगामी वर्ष फूलखेती विस्तार गर्ने योजना बनाएका छौं,’ पाण्डेयले भने ।
कपिलवस्तुको वाणगंगाका भास्कर पंगेनी र दशरथ साउदले दाङमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोग कीरा र अन्य प्राविधिक पक्ष हेर्छन् ।
कपिलवस्तुमा ६ वर्ष पहिलेदेखि फूलखेती गरेका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका हुन् । गत वर्ष तिहारमा मात्रै १३ लाखको फूल बिक्री गरेको साउदले बताए ।

फूल खेतीमा रुचि र उत्साह
यी उदाहरण र फूल खेतीमा तत्लीन तन्नेरीहरूबाट यसतर्फ आकर्षण बढेको संकेत गर्छ ।
चाडपर्व, मेला महोत्सव र विभिन्न कार्यक्रममा फूलको माग बढ्न थालेपछि युवा किसानको रूचि फूल खेतीतर्फ बढेको हो । युवा फूल खेतीमा कस्सिएपछि लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर हुने बाटोमा छ । प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउँदै विदेशबाट आउने फूल/माला रोक्न पनि युवाहरू कस्सिएका हुन् ।
अहिले लुम्बिनी प्रदेशभर स्वदेशी फूलको खेती र उपयोग बढेको छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले यो समयमा माग बढी हुने तथा उचित मूल्य पाइने पुष्प व्यवसायी बताउँछन् ।
अहिले तिहार शुरू हुँदैछ । नेपालमा करिब ६ प्रजातिका फूल पाइने भएपनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । दाजुभाइ र दिदीबहिनीबीच भाइटीकापछि समृद्धिको प्रतीक सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ ।

लुम्बिनीमा फूलका लागि उत्कृष्ट हावापानी
अहिले एउटा मालाको मूल्य १०० देखि १५० रूपैयाँ र एक किलो फूलको मूल्य ४–५ सय रुपैयाँ कायम गरिएको छ । विगतमा बुटवल, नेपालगञ्ज, पोखरालगायतका शहरमा पुर्याएर फूल र माला बिक्री गरेका छन् ।
विभिन्न पालिकाहरूले विदेशबाट आयात हुने लाखौं मूल्य बराबरका प्लास्टिकका माला र खादा प्रयोगलाई निषेध गरेका छन् । लुम्बिनी प्रदेशमा फूलखेतीका लागि हावापानी उत्कृष्ट छ ।
प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बराइलीले रुकुम पूर्व र प्युठानमा फूलखेती तुलनात्मकरूपमा कम भएपनि अन्य जिल्लामा उल्लेख्य खेती हुने गरेको बताइन् ।
प्रदेशमा करिब १५ हेक्टर जमिनमा फूलखेती भएको जानकारी दिँदै उनले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको जानकारी दिइन् ।

९० प्रतिशत आन्तरिक उत्पादन
लुम्बिनी प्रदेशमा करिब ९० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको छ । अफ सिजनमा मात्रै यहाँ फूलको आयात गर्नुपर्ने अवस्था छ । बिरुवा रोपेको साढे दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीनपटकसम्म खेती गर्न सकिने भएकाले किसानहरू फूलखेतीमा आकर्षित भएको बराइली बताउँछिन् ।
प्रदेशका १२ वटै जिल्लामा पुष्प व्यवसाय प्रवर्द्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवाहरूलाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरण प्रदान गर्ने काम भएको बराइलीले बताइन् ।
भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल पर्ने गरेको छ । रुपन्देहीको भैरहवा, बुटवल, नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका विभिन्न बजारमा भारतबाट सहजै फूलमाला आउने गरेको छ ।

तिहार उज्यालो र फूलहरूको पर्व
तिहार उज्यालो तथा फूलहरूको पर्व पनि हो । जताततै झिलिमिली र ढकमक्क फूलले घर–घरमा प्रकाश र उत्सव भर्ने गर्छ । कात्तिक महिना धेरै प्रजातिका फूल फुल्ने मौसम हो । त्यही भएर कात्तिकमा जताततै रंगीबिरंगी फूलहरूले बगैँचा ढकमक्क हुन्छ । सयपत्री र गोदावरीजस्ता मौसमी फूलहरूले घरहरू सजिसजाउ हुन्छन् ।
कात्तिकमा सबैभन्दा बढी सयपत्री, गोदावरी र मखमली फुल्छन् । सयपत्री मंसिर, पुस र माघबाहेक अरू महिनामा सहजै पाइन्छ । मखमली अरू मौसममा समेत फुल्ने भए पनि यसको प्रयोग तिहारमा मात्र हुन्छ ।
गोदावरी फूल भने तिहारबाहेक अरू महिनामा पनि प्रयोग हुन्छ । पुष्प व्यवसायीहरूका अनुसार लुम्बिनीका सबै जिल्लामा तिहारका लागि चाहिने फूल फुल्छन् । तर, तीमध्ये सयपत्रीको माग सबैभन्दा बढी हुन्छ । मखमली नओइलाउने फूल हो । त्यसैले तिहारमा भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई अमर रहने आशीर्वादसहित मखमली फूलको माला लगाइदिन्छन् ।


