२८ जेठ २०८३, बिहीबार

सरकार नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्यमा छ : मन्त्री पाण्डे

कात्तिक १२, २०८१
काठमाडौं
सरकार नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्यमा  छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।

'संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेका छौं । यही आलोकमा ऐनहरु आउनेछन्,' सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, 'तपाईहरुले पनि राम्रो कल्चर भित्र्याउनुहुनेछ, वातावरण बनाउनुहुनेछ ।'
नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति भरिपूर्ण रहेको र नागरिक उड्डयनमा अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । 'आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ । इयुले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौ भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,' उनले भने ।  

सांस्कृतिक,  भौतिक र अभौतिक सम्पदालाई पनि उजागर गर्नुपर्ने उनले बताए । 'पछिल्लो पुस्तालाई जोड्ने भाषा र संस्कृतिले नै हो । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई अधिकतम उपयोग गर्न सकियो भने नेपालसँग जोडिनुहुन्छ । यसमा सबैभन्दा धेरै पर्यटनको क्षेत्र हो,' उनले भने ।

पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले बताए । 'संस्कृति र प्रकृतिको प्रवर्द्धन र आकाश सूचारु गर्ने सम्बन्धमा पनि काम गरिरहेका छौं । सातवटा प्रदेशमा सातवटा ट्वीनेटर विमान सञ्चालन गर्ने भनेर सोचिरहेका छौं,' उनले भने ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । 

कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विज्ञ डा. रणबहादुर रावलले पर्यटन प्रवर्द्धनका लागि नीतिगत, संरचनागत सुधारको जरुरी रहेको बताए । ऐन कानुनहरु पर्यटनमेत्री बनाउनुपर्ने उनको भनाइ थियो ।  

सबैभन्दा ठूलो समस्या नीतिकै भएको उनले बताए । 'इको फ्रेण्डली टुरिजम संविधानमा उल्लेखित छ । तर, पूर्वाधार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रलाई ल्याउने कुरामा नीतिगतरुपमै कमजोरी भयो,' उनले भने । रावलले  नागरिक उड्डयन, संस्कृतिसम्बन्धी ऐनहरु संशोधन गर्न पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए ।  'टुरिजम व्यवसायीका लागि नयाँ गन्तव्यमा फोकस हुन सकेको छैन । मेडिकल टुरिजमको सम्भावना छ । टुरिजमको पूर्वाधार कमजोर छ । सुरक्षा प्रबन्ध पनि फितलो छ,' उनले भने ।
सरकारले काम गर्ने वातावरण बनाइदिए एनआरएन र व्यवसायीहरुले आफै काम गरिदिने भन्दै पर्यटनको नेतृत्व क्षमता, पूर्वाधारण निर्माणमा एनआरएनएले लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसी पर्यटनको सहर भएको भन्दै प्रवर्द्धन गर्न जरुरी रहेको बताए । 'नेचर, कल्चर र एड्भेन्चरलाई नीतिगत र योजनाबद्धरुपमा काम गर्नुपर्छ,' उनले भने । तर काम गर्न नीतिगत चुनौती रहेको बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न १८ महिना लागेको भन्दै उनले पर्यटकीय राजधानीमा आउन एनआरएनहरुलाई अनुरोध गरे । मुक्ति क्षेत्रको प्रवेशद्वार र शालिग्रामलाई आधार मानेर पोखरालाई अध्यात्मिक पर्यटन प्रवर्द्धन गरिरहेको उनले जानकारी दिए । पोखरामा खेल पर्यटन पनि फस्टाइरहेको बताए । उनले एनआरएनएको आगामी कार्यक्रम पोखरामा गर्न अनुरोध गर्दै आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धता जनाए । पोखराले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिरहेको लगानी गर्न आह्वान गरे । पोखरा भ्रमण वर्ष २०२५ मनाउन लागेको भन्दै एनआरएनसँग सहकार्य गरिने बताए ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले जैविक विविधता, धार्मिक, सांस्कृतिक विविधताले भरिएको, सिमसार क्षेत्र, नदी क्षेत्र, चराहरुको बासस्थान रहेको भरतपुरलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न पर्यटन भ्रमण वर्ष २०२४ मनाइरहेको बताए । 
रामग्राम नगरपालिका प्रमुख धनपत यादवले छिमेकी राष्ट्रहरुबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन जरुरी रहेको बताए । कोभिडपछि लुम्बिनी क्षेत्रको पर्यटक धाराशायी भएको र व्यवसायी पलायन भइरहेको भन्दै उनले बुद्धिष्ट पर्यटक भित्र्याउन एनआरनएनले पहल गरिदिनुपर्ने बताए । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले पर्यटनमा लगानीको वातावरण सिर्जना भएमा गैरआवासीय नेपाली आकर्षित हुने बताए । 
होटल एसोसिएसन अफ नेपालका सिइओ टेकेन्द्र महतले एनआरएनएसँग आफूहरुको अपेक्षा प्रवर्द्धन र ब्राण्डिङ भएको बताए । 

एनआरएनएका उपमहासचिव सोमनाथ सापकोटाले नेपालको सम्पदा, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि पुलको भूमिका खेल्ने बताए । पर्यटन प्रवर्द्धन एनआरएनएको प्राथमिकतामा रहेको भन्दै चुनौतीहरुमा महत्त्वपूर्ण रणनीति अगाडि बढाउन र नेपाललाई पर्यटन गन्तव्य बनाउन यो छलफलले सघाउने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्