
गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको थियो ।
त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।
प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ ।
प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गुको सङ्क्रमण देखिएको छैन ।
गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
अक्टोबरमा छ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा नौ सय ४७ जनामा डेङ्गु देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार कास्कीपछि सबैभन्दा बढी तनहुँमा तीन हजार आठ सय १७, पर्वतमा एक हजार चार सय ३१, बागलुङमा एक हजार तीन सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा सात सय २६, म्याग्दीमा चार सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् ।
चिसो मौसम शुरू भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए ।