
चितवनको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको सङ्क्रमण देखिएको छ । खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार किसानले बीउ रोपेको १५ देखि २० दिनमा राज्माको बोटमा ढुसीको सङ्क्रमण देखिएको हो ।
अधिकृत न्यौपानेले ढुसीको सङ्क्रमण मुख्यतः सङ्क्रमित बीउ, माटो र हावापानीका कारणले हुने बताए । खेती लगाउँदा राम्रोसँग बीउको उपचार गरेर मात्र लगाउन उनको आग्रह छ । हाल ढुसी पहिचान भएको बालीमा सरसफाइ गरी बेलुका वा शीतल समयमा ‘ट्राइकोड्रमा’ वा ‘स्युडोमोनस’ जैविक विषादी ५–१० ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्ने र यदि रासायनिक विषादी प्रयोग गर्ने भएमा ‘कार्वेडाजिम’ ५० प्रतिशत ‘डब्लुपी’ विषादी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्न सकिने उनले जानकारी दिए ।