
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगोरूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने स्पष्ट पारे ।
नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए ।
उनले विमानस्थल दिगोरूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने बताए । ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु,’ उनले भने ।
संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऊ भन्नेमा सोचमा आफू रहेको उनले बताए । ‘मेची-महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं,’ उनले भने ।
मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवालाई पर्यटनको ‘इपिसेन्ट’को संज्ञा दिए ।
विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताउँदै मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठकबाट कार्यान्वयनका लागि निर्णय गरिने बताए ।
गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको इपिसेन्टर लुम्बिनी आउने बताए । उनले सँस्कृति नरहेको बताउँदै अब नहुने काम हुँदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले विश्वका डेढ अर्ब बढी बुद्धमार्गीहरूको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरूबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवर्द्धन हुने बताए ।
उनले निजी क्षेत्रले विमानस्थल चलाउनका लागि सहुलियत दिएर भए पनि दिगो सञ्चालनको वातावरण बनाउनुपर्ने बताए ।