
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् । शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताउँदै उनले त्यसैबाट समृद्धि हासिल हुने बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्वशान्तिबाट हुने बताए । त्यसैलाई निष्कर्षका रूपमा आफूहरूले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा तय गरेको समेत उनले बताए ।
प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र विश्वभरका शान्तिप्रेमीहरूको पावन भूमिका रूपमा लुम्बिनीलाई विकास गरिने बताए ।
उनले लुम्बिनीलाई मानवजाति मात्रै नभई सबै प्राणी रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा जोड दिए ।
उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यही बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको बताए ।
‘५ हजार मानिसहरू एकैचोटी बस्न मिल्ने गरी सभाहल बनाइएको छ,’ उनले भने, ‘लुम्बिनीलाई मान्छेहरूको मात्रै होइन, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रोले पनि लुम्बिनी सम्झिन सक्ने ढंगले विकास गर्ने योजना बनाएका छौं,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लुम्बिनी विश्व विद्यालयले बौद्ध दर्शन, शान्ति र विश्वबजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षाका लागि काम गर्ने समेत बताए ।
कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्व विश्वविद्यालयले बौद्व दर्शनसँगै विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिइन् ।