
भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
फुयाँल यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेकोसमेत खुल्न आएको छ ।
प्रहरीले उनको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ ।