
बर्दिया राष्ट्रिय निकुञ्ज नेपाल भ्रमण वर्ष (२०७६) मा उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्यो । निकुञ्जमा नजिक भएकोले भारतबाट धेरै पर्यटक आउँछन् । भारतबाहेक अन्य देशका पर्यटकको पनि रोजाइमा निकुञ्ज पर्छ ।
वार्षिक ३ लाख बढी आन्तरिक र बाह्य पर्यटक आउने बर्दियामा ठूलो सम्भावना देखेर पर्यटन व्यवसायी धर्मराज घिमिरेले सुविधासम्पन्न रिर्सोट बनाउने सोच बनाए । घिमिरेले पूर्वपश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणतर्फ ठाकुरबाबा नगरपालिका–९ मा पाँच वर्षअघि आकर्षक सेवा दिनेगरी बबई रिर्सोट प्रालि सञ्चालनमा ल्याए ।
चितवनको सौराहामा ३० वर्ष पुरानो राइनो लज चलाएका अनुभवी धर्मराजले ३० करोड रूपैयाँको शुरूआती लगानीबाट खोलेको बबई रिर्सोटले २०७६ पुसबाट सेवा दिन थाल्यो । उच्चस्तरीय सेवा, स्थानीय स्वाद र सांस्कृतिक अनुभव प्रदान गर्दै पर्यटकहरूलाई आकर्षित गर्न थालेको तीन महिनामै कोरोना महामारी आइदियो । कोरोना महामारीले पर्यटक आगमन ठप्प भयो । रिसोर्ट चल्ने कुरै भएन ।
व्यावसायिक क्षेत्रमा दुई दशकको दरिलो अनुभव संगालेको ठाउँभन्दा ४०० किलोमिटर पश्चिममा ठूलो सपना देखेर आएका धर्मराजलाई ‘पहिलो गाँसमै ढुंगा’ लाग्यो ।
महासंकट आए पनि धर्मराजले हार मानेनन् । ऋणमाथि ऋण गरेरै भए पनि धर्मले तीन वर्ष रिर्सोटलाई जेनतेन धाने । कोराना कहर विस्तारै हट्दै गएपछि पर्यटन क्षेत्रले लय समात्न थाल्यो ।
बर्दियाका उत्कृष्ट रिर्सोटमध्येमा पर्ने बबईले आउँदो अंग्रेजी नयाँ वर्षबाट आफ्नो सपना पच्छ्याउने आशामा धर्मराज छन् । ‘सामान्य मानिस भएको भए विस्थापित भइसक्थे,’ धर्मराज भन्छन्, ‘म ठूलो जटिलतापछि सहजता आउँछ भन्ने विश्वास गर्ने मान्छे हुँ । तीन वर्ष पूरै रिर्सोट बन्द हुँदा पनि धैर्यधारण गरेर बसेँ । गत वर्षदेखि पर्यटकको संख्या बढ्दो छ । आउँदो वर्ष यसले वास्तविकता पच्छ्याउँछ भन्नेमा विश्वस्त छु ।’
काम गर्ने इच्छाशक्ति, दुरदृष्टि, कठिन परिश्रम र धैर्यताका पर्याय धर्मराजले अप्ठ्यारो पार गरेर बर्दियामा पनि आफूलाई सफल पर्यटन व्यवसायीको रूपमा उभ्याइसकेका छन् । रिर्सोटमा सबै मुलुकका पर्यटकलाई मिल्ने सुविधासहित ७५ वटा रूम छन् । रिसोर्टले एकै पटक बढीमा ५ सय जना पाहुनालाई राख्न सक्छ । ३० करोड लगानीबाट शुरू भएको रिर्सोटमा ५० करोड, ७० करोड हुँदै आउने वर्ष १ अर्ब रूपैयाँ लगानी पुग्दैछ ।
रिर्सोटले पर्यटकलाई नयाँपन दिएको छ । डेढ विघा क्षेत्रफलमा फैलिएको रिर्सोटमा धर्मराजले ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । रिर्सोटमा जंगल सफारी, बर्ड वाचिङ, बबई नदी र कर्णालीमा र्याफटिङ, डल्फिन वाचिङजस्ता प्याकेज छन् । ‘एक पटक आएर बसेका पर्यटक फेरि बर्दिया आउँदा हाम्रो रिर्सोटलाई रोज्नुहुन्छ,’ धर्मराज भन्छन्, ‘यो सबैभन्दा खुसीको क्षण लाग्छ । आगामी दिनमा अझै सेवा विस्तार हुन्छ ।’
बाटोघाटोको असुविधा, हवाई भाडा महँगो र एकरूपता नहुँदा सम्पूर्ण टुरिजम क्षेत्रलाई असर परेको धर्मराज बताउँछन् ।
अहिले रिर्सोटको ‘अकुपेन्सी’ ४०/४५ प्रतिशत छ । यो पनि पर्याप्त त होइन । तर, तीन वर्ष पूरा शून्यमा रहेको अवस्थापछि यो तहमा आउनुलाई उनी औसत नै मान्छन् ।
आउँदो सन् २०२५ मा बबईसहित बर्दियाका रिर्सोटको अकुपेन्सी ६० प्रतिशतमाबाट माथि लाग्ने धर्मराजको अनुमान छ । धर्मराज नेपालको पर्यटनमा ठूलो सम्भावना देख्छन् ।
बर्दियामा ठूलो लगानी गर्दा अचम्म मान्नेहरूको कमी थिएन । तर, पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको भन्दै उनले ठूलो लगानी गरेका हुन् ।
बर्दियासँगै चिसापानी, कर्णाली पुलसहित पहाडी भूभागहरूलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको धर्मराज बताउँछन् । ‘बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिनसमेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्न थप एउटा गन्तव्यका रूपमा बबई रिसोर्ट पनि रहेको छ ।’ अहिले बर्दियाका झण्डै आधा दर्जन रिर्सोटमा दैनिक २ हजारभन्दा बढी मानिसहरू बस्ने गर्छन् ।
बर्दियासहित प्रमुख गन्तव्यहरूमा पर्यटक बढाउन भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानसँगै डोमेस्टिकमा पनि भैरहवालाई जोडनुपर्ने आवश्यकता रहेको धर्मराज बताउँछन् । ‘यहाँबाट नजिकको डेस्टिनेशन भनेको भैरहवा इन्टरनेशलन एयरपोर्ट नियमित गरेर गन्तव्य लुम्बिनी हुँदै बर्दिया बनाउनुपर्यो । जहाज बिसाएर फर्किएर मात्र भएन,’ उनी भन्छन्, ‘अहिले भैरहवाबासी खुसी भएका छन् । भैरहवाबाट पोखरा, सौराहा बर्दिया, जोमसोमसम्म पनि चल्नेगरी अब भैरहवाले डोमेस्टिक उडानलाई विस्तार गर्न पनि आवश्यक छ ।’
पर्यटन व्यवसाय भनेको तत्कालै प्रतिफल आउने व्यवसाय होइन । ‘व्यवसाय भनेको केवल मुनाफाको खेल मात्र होइन, यो दृढता, परिश्रम, र लगनशीलताको यात्रा हो । जसले चुनौतीहरूलाई सामना गर्दै आफ्नो व्यवसायमा निरन्तर अडिग हुन्छ, त्यसले सफलता हासिल गर्छ,’ धर्मराज भन्छन् ।
स्पष्ट र व्यवस्थित दीर्घकालीन लक्ष्य र योजना बनाउने, पर्यटकको आवश्यकता बुझेर उत्कृष्ट सेवा प्रवाह गर्ने, परम्परागत शैलीलाई तोड्दै नयाँ सोच र प्रविधिको उपयोग गर्ने, व्यवसायमा आउने समस्यालाई चुनौतीको रूपमा लिने र त्यसलाई समाधान गर्न सकारात्मक दृष्टिकोण राखेर पर्यटन व्यवसायी अघि बढ्नुपर्ने घिमिरेको सुझाव छ ।
विश्वका धेरै देश पर्यटनको विकाससँगै आर्थिक रूपमा सबल बनेको उनको बुझाइ छ । ‘पर्यटन क्षेत्रलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ,’ उनी भन्छन्, ‘यस्ता राष्ट्रहरूमा यातायातका साधनहरू विकट पहाडी क्षेत्रहरूमा पुर्याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । हवाई साधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । तर, गर्नु पर्छ ।’