
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ ।
सहरी विकास मन्त्रालयले दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । रामग्राम नगरपालिकालाई बसपार्क दुई वर्ष पहिला नै हस्तान्तरण गरेको भएपनि अहिलेसम्म सञ्चालनमा नआउँदा समस्या भइरहेको सहरी विकास मन्त्रालयका इन्जिनियर वीरेन्द्र मण्डलले बताए ।
उनका अनुसार बसपार्कमा सानाठूला ६० सवारीसाधन राख्न सकिने छ । बसपार्क जाने सडक साँघुरो भएकाले उपयोगविहीन भएको हो । समिर कन्स्ट्रक्सन कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेर २०७९ असारमा रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
पाल्ही मध्यनेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषिराम पौडेलले नयाँ बसपार्क जाने सडक साँघुरो भएकाले आफूहरूले जग्गा भाडामा लिएर महेशपुर–परासी सडकखण्डको छेउमा सवारीसाधन राख्ने गरिरहेको बताए ।