
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका ८ जना प्रहरी अधिकारीहरूले दर्ज्यानी चिह्न पाएका छन् ।
सोमबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार बढुवा भएका आठ डीआईजीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरे ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा डीआईजीहरू ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकले दर्ज्यानी चिह्न लगाएका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नबाट सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।
पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अझै खरो रूपमा उत्रिले विश्वास लिएको बताए ।
संगठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न श्रृजनशील प्रयासबाट संगठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र सांगठनिक सुदृढीकरण र संगठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिवद्ध रहन आईजी कुँवरले निर्देशन दिए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।