
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दक्षिण एशियाली कूटनीतिक भ्रमणका क्रममा काठमाडौंमा आइपुगेका छन् ।
नेपालका वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसहित उनी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । भारत र श्रीलंकाको भ्रमण सकेर उनी नेपाल आएका हुन् ।
लुको यो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ गर्न र आपसी सहकार्यलाई प्रवर्द्धन गर्न केन्द्रित रहेको दूतावासको भनाइ छ ।
अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘भ्रमणका क्रममा वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका क्षेत्रमा साझेदारीलाई विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।’