
काठमाडौँ, २७ कात्तिक- पहाडी जिल्लाको भौगोलिक विकटता, विप्लव नेतृत्वको नेकपा र तराईमा जातीय राजनीतिलाई सुरक्षा अधिकारीले आसन्न निर्वाचनको प्रमुख चुनौती ठानेका छन्, नयाँ पत्रिकामा खबर छ । सोहीअनुसार सुरक्षा योजनालाई अघि बढाइएको छ । गृहले चार प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ, थप तीन प्रदेशमा गोष्ठीको तयारी छ । गोष्ठीमा सहभागीहरूले अन्तरपार्टी संघर्ष नै निर्वाचनको प्रमुख सुरक्षा चुनौती भएको बताएका छन् । पहाडका विकट क्षेत्रमा रहेका मतदानस्थलमा थोरै मात्र प्रहरी हुने भएकाले झडप भए पनि समयमै थप प्रहरी पुग्न नसक्दा क्षति हुन सक्ने आकलन गरिएको छ ।
त्यस्तै, तराईमा खुला सिमानाका साथै जातीय राजनीतिलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ । आफ्नो जातको उम्मेदवारलाई मात्र भोट हाल्ने चलन तराईका कतिपय स्थानमा छन् । जसले गर्दा निर्वाचनमा दुई समूहबीच झडप हुन सक्ने विश्लेषण स्थानीय सुरक्षा समितिहरूको छ । आफूहरूले सबै किसिमका चुनौतीलाई विश्लेषण गरेर सुरक्षा तयारी गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख एआइजी विजयलाल कायस्थले बताए । सीमा सुरक्षालाई बलियो बनाउन भारतीय पक्षसँग छलफल सुरु भइसकेको उनले बताए । साना हतियार नियन्त्रणका लागि पनि प्रहरीले योजना अघि बढाएको छ । तराईमा पनि स्थानीय निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विस्फोटलगायतका गतिविधि गरेका थिए ।
तराईमा विखण्डनको नारा लिएर अघि बढेको सिके राउतको समूह भने हालसम्म कुनै चुनावविरोधी गतिविधिमा देखिएको छैन । तर, उनीहरूलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।