
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय ‘मेरिटोक्रेसी’ का आधारमा चल्नुपर्ने बताएका छन् ।
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–८ बिधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास उद्घाटन एवं चैलिङ नमूना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका हुन् ।
आफू प्रधानमन्त्री हुँदा शैक्षिक सुधारका लागि शिक्षा विधेयकमा सहमति कायम गराएर अगाडि बढाएको स्मरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रको सुधारबाटै समाज परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे । उनले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताए ।