२९ असार २०८३, सोमबार

साउदीमा २०३४ विश्वकप : नेपालीलाई रोजगारीको अवसरको आशा, श्रमिक सुरक्षाको चिन्ता

पुस १, २०८१
काठमाडौं
साउदीमा २०३४ विश्वकप : नेपालीलाई रोजगारीको अवसरको आशा, श्रमिक सुरक्षाको चिन्ता

गत मंसिर २६ गते विश्व फूटबल महासंघ(फिफा)ले सन् २०३४ को विश्वकप साउदी अरबले आयोजना गर्ने घोषणा गर्‍यो ।​​​​​

बोलकबोलको प्रक्रियामा रहेको अर्को देश अस्ट्रेलियाले आफ्नो प्रस्ताव फिर्ता लिएपछि साउदीले विश्वकप आयोजना गर्ने भएको हो ।

फिफाका अनुसार २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनले संयुक्तरूपमा आयोजना गर्नेछन् । यसका साथै प्रतियोगिताका तीन विशेष उद्घाटन खेलहरू अर्जेन्टिना, पराग्वे र उरुग्वेमा सम्पन्न हुनेछन् ।

यो वर्ष विश्वकपको १०० औं संस्करण मनाइने भएकाले दक्षिण अमेरिकी देशहरूमा विशेष खेल आयोजना गरी ऐतिहासिक क्षणलाई सम्मान गरिने फिफाको भनाइ छ ।

दक्षिण अमेरिकामा फिफाको विश्वकप हुनु नौलो विषय होइन । फूटबलका लागि दक्षिण अमेरिका र युरोप उर्बर भूमि हुन् । तर, २०३४ को विश्वकप साउदीले आयोजना गर्ने निर्णयबारे विश्वभर चर्चा भइरहेको छ ।

साउदीले 'भिजन २०३०' अन्तर्गत आफ्नो अर्थतन्त्र विविधीकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र खेलकुदलाई माध्यम बनाउँदै विश्वव्यापी सन्देश पुर्‍याउने योजना अघि सारेको छ ।

खेलकुदमा ठूलो लगानी गर्दै साउदीले युरोपको टप फाइभ लीगका चर्चित खेलाडी भित्र्याउने काम गरिरहेको छ भने नयाँ स्टेडियम निर्माण र विश्वस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्नमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

नेपालका लागि कतार विश्वकपको 'नमीठो' अनुभव

फूटबल विश्वमा सबैभन्दा बढी रुचाइने खेल हो । नेपाल पनि त्यसबाट अछुतो छैन ।

यसअघि २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म साउदीकै छिमेकी देश कतारमा भएको विश्वकपमा दर्शकका रूपमा त्यसअघि भन्दा धेरै नेपाली सहभागी थिए ।

कतारजस्तै साउदीले आयोजना गर्ने विश्वकप पनि नेपालीका फूटबल पारखीका लागि सहज पहुँचयोग्य हुनेछ । तर, खेलको सुखदायी रोमाञ्चकताभित्र एउटा दुखदायी पाटो पनि छ ।

कतारमा करिब ६ लाख नेपाली आप्रवासी कामदार छन् । तीमध्ये आधाभन्दा धेरै निर्माण कम्पनीमा मजदूरका रूपमा काम गर्छन् ।

सन् २०१० मा १२ वर्षपछिको विश्वकप कतारले आयोजना गर्ने निर्णय हुँदा नेपाली श्रमिकहरू उत्साहित थिए ।

ठूल्ठूला रंगशाला निर्माण, यातायात पूर्वाधार, होटल/रेस्टुरेन्ट र अन्य क्षेत्रमा ठूलो रोजगारी सिर्जना हुने र नेपालीका लागि विश्वस्तरीय आयोजनामा सुरक्षित रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो ।

तर, कतारले नगन्यबाहेक श्रम कानूनमा कुनै परिवर्तन गरेन । श्रम कानून, मानवाधिकारको अवस्था र अन्य प्रतिकूल अवस्थाबारे विश्वभर चर्चा हुँदासमेत कतारले परम्परागत व्यवस्थाको पुनर्संरचना गर्न कुनै पहल गरेन ।

फलस्वरूप नेपाललगायत दक्षिण एसियाका अन्य देश, फिलिपिन्स र कतिपय अफ्रिकन देशका आप्रवासी कामदारको अवस्थामा कुनै परिवर्तन भएन । २०१० पछि नेपालले कतारसँग आफ्ना श्रमिकको सुरक्षाका लागि विभिन्न सहमति र सम्झौता गर्ने प्रयास नगरेको होइन, तर नेपालको पहल पुगेन ।

वैदेशिक रोजगार विभागको आधिकारिक तथ्यांकअनुसार कतारमा रंगशाला र अन्य निर्माणका क्रममा १६ सय नेपाली श्रमिकले ज्यान गुमाएका थिए । उनीहरू सबैको मृत्युलाई 'प्राकृतिक कारण' बताइने गरेको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका अनुसार विश्वकपका लागि पूर्वाधार बनाउने क्रममा नेपाललगायत अन्य देशका हजारौं श्रमिकहरूले ज्यान गुमाएका थिए । अत्यधिक गर्मी, असुरक्षित कार्यस्थल र स्वास्थ्यको उचित ध्यान नदिइँदा यस्तो समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएका छन् ।

कतारको विश्वकप तयारीका क्रममा श्रमिकले भोग्नुपरेका समस्याबारे अन्तर्राष्ट्रिय मिडिया र अधिकारवादी समूहहरूले ठूलो चिन्ता व्यक्त गरेका थिए । यसले मध्यपूर्वका देशमा श्रमिकहरूको अवस्था सुधार्न दबाब सिर्जना त गर्‍यो तर दबाबअनुसार काम भने भएको छैन । यस्तै अवस्था छ, साउदी अरबको ।

साउदी अरबमा नेपाली श्रमिकको अवस्था

साउदी अरब नेपाली श्रमिकहरूको मुख्य गन्तव्यमध्ये एक हो ।

करिब ५ लाख नेपालीले निर्माण, घरेलु काम र सेवा क्षेत्रमा काम गर्छन् । उनीहरूले नेपालको अर्थतन्त्रका लागि ठूलो योगदान गरेका छन्, तर उनीहरूको वास्तविक अवस्था सोचेभन्दा बढी नराम्रो छ ।

साउदीले विश्वकप आयोजना गर्ने सन्दर्भमा श्रमिक अधिकारको विषयले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।

श्रमिकहरूको काम गर्ने अवस्था सुधार र न्यूनतम् ज्यालाबारे अन्तर्राष्ट्रिय स्तरमा साउदीमाथि दबाब परेको छ ।

साउदीमा काम गर्ने करिब ५ लाख नेपाली श्रमिकमध्ये झन्डै ६० प्रतिशत श्रमिक निर्माण क्षेत्रमा कार्यरत छन् । यसको अर्थ करिब २ लाख ७० हजारदेखि ३ लाख नेपाली श्रमिकले जोखिमयुक्त मानिने निर्माण क्षेत्रमा काम गरिरहेका छन् ।

साउदीमा २६ लाखभन्दा बढी भारतीय आप्रवासी श्रमिक छन् । त्यस्तै, १५ लाखको हाराहारीमा पाकिस्तानीले काम गर्छन् भने बंगलादेशबाट २० लाखभन्दा बढी श्रमिक रोजगारीका लागि साउदीमा कार्यरत छन् ।

फिलिपिन्सको हकमा यो संख्या १० लाख छ । त्यस्तै, इजिप्टबाट १५ लाख, श्रीलंकाबाट करिब ५ लाख र इन्डोनेसियाबाट ३ लाखको हाराहारीमा श्रमिकले साउदीमा काम गर्छन् । यी सबै देशका अधिकांश श्रमिक निर्माण क्षेत्रमा संलग्न छन् ।

साउदीमा विश्वकप आयोजना हुनु नेपाली श्रमिकका लागि नयाँ अवसर र चुनौती दुवै हो ।

विश्वकपका लागि पूर्वाधार निर्माणमा ठूलो संख्यामा श्रमिकको आवश्यकता पर्छ । यसले रोजगारी सिर्जना गर्ने सम्भावना भए पनि उचित पारिश्रमिक र कामको सुरक्षाबारे पर्याप्त सतर्कता अपनाउन आवश्यक देखिन्छ ।

विश्लेषकहरूले कतारको अनुभवबाट सिकेर सरकारले नेपाली श्रमिकको अधिकार सुरक्षित गर्न साउदीसँग द्विपक्षीय सम्झौतामा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

साउदीले 'भिजन २०३०' अन्तर्गत निओम सिटीजस्ता नयाँ शहर, रंगशाला, मेट्रो, सडक र अन्य ठूला परियोजनामा ठूलो लगानी गरिरहेको छ । यी परियोजनामा धेरैजसो नेपाली श्रमिकले निर्माण मजदुरका रूपमा काम गरिरहेका छन् ।  

साउदीको मानवाधिकारमाथि प्रश्न !

साउदी अरबमा मानवअधिकारको अवस्था चिन्ताजनक रहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले खुलासा गरेका छन् । साउदीमा खासगरी अभिव्यक्ति स्वतन्त्रता, महिला अधिकार, श्रमिक अधिकार र आप्रवासी कामदारको स्थिति गम्भीर छ ।

साउदी सरकारले शान्तिपूर्ण ढंगले स्वतन्त्रतापूर्वक आफ्ना अधिकार प्रयोग गर्न खोज्ने व्यक्तिमाथि पनि प्रश्न उठाउने गरेको छ ।

धेरैलाई लामो जेल सजाय वा मृत्युदण्डसमेत दिइएको छ र यी मुद्दाहरू सामान्यतः अन्यायपूर्ण कानूनी प्रक्रियामा आधारित छन् । सामाजिक सञ्जालमा व्यक्त विचारकै कारण समेत मृत्युदण्डको सजाय हुने अवस्था साउदीमा छ ।

ह्युमन राइट्स वाचका अनुसार साउदीको कानूनमा महिलामाथिको भेदभाव र व्यवहारमा कायमै छ । केही सुधारका प्रयास भए पनि महिलाहरू अझै पनि रोजगारी, शिक्षा, खेल र अन्य क्षेत्रमा पुरुषजस्तै समान अधिकारबाट वञ्चित छन् ।​

मानवाधिकारको अन्तर्राष्ट्रिय घोषणापत्रमा उल्लेख भएविपरीत साउदीमा मृत्युदण्ड अझै कायम छ । बाल्यावस्थामा अपराध गर्नेहरूमाथि समेत यो लागू गरिएको छ ।

यस्तै, यमनको सीमामा आप्रवासीहरूमाथिको गोलीकाण्डले मानव अधिकार उल्लङ्घनको गम्भीरता झल्काएको ह्युमन राइट्स वाचको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । गत साल मात्र साउदीमा २ सय भन्दा बढीलाई मृत्युदण्ड दिइएको छ ।

त्यस्तै, साउदीमा समलैंगिकतालाई कानूनीरूपमा अपराध मानिन्छ र यसलाई इस्लामिक कानून (शरिया) अन्तर्गत गम्भीर अपराधको रूपमा वर्गीकृत गरिएको छ । समलैंगिकतामा सहभागी भएको आरोप लाग्नेहरूलाई मृत्युदण्डसमेत दिने गरिन्छ ।

त्यहाँ समलैंगिक अधिकारलाई समर्थन गर्ने कुनै पनि अभिव्यक्ति, पुस्तक वा सामग्रीमा प्रतिबन्ध लगाइएको छ ।

फिफाको निर्णयमाथि विश्वस्तरमा आलोचना

साउदीलाई २०३४ को विश्वकप आयोजना गर्न दिने निर्णयको आलोचना गर्दै विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले श्रमिकको हकसँग सम्बन्धित विषयहरू उठाएका छन् ।

अमेरिकाका सिनेटर रोन वायडन र डिक डर्बिनले साउदीमा विश्वकप आयोजना गर्ने फिफाको निर्णयमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरू दुवैले साउदीको मानव अधिकार उल्लङ्घन, श्रमिक शोषण, महिला र समलैंगिक अधिकार हननको आलोचना गरेका छन् । ​

त्यस्तै, संयुक्त राष्ट्रसंघले पनि साउदी अरबमा हुने मानवाधिकार उल्लङ्घनको घटनालाई बारम्बार आलोचना गर्ने गरेको छ । राष्ट्रसंघले आधिकारिक रूपमै विज्ञप्ति निकालेर यसबारे चासो व्यक्त गरेको थियो ।

साउदीले विश्वकप आयोजना गर्ने विषयमा अन्तर्राष्ट्रिय श्रमिक संगठनले पनि ठूलो चिन्ता व्यक्त गरेको छ ।

यसले यसअघि पनि पटक-पटक साउदीको निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था सुधार्न दबाब दिइरहेको थियो, तर साउदीले त्यसको नजरअन्दाज गरिरहेको छ ।

यसबाहेक विभिन्न मानवाधिकार संस्थाहरूले पनि फिफाको यस निर्णयलाई आलोचना गरिरहेका छन् । उनीहरूले फिफालाई एक लोकतान्त्रिक र मानवाधिकारप्रति प्रतिबद्ध भएको देश छान्न आग्रह गरेका छन् ।

विश्वकपका लागि साउदीको तयारी

विश्वकपका लागि साउदीले धेरै ठूला पूर्वाधार परियोजना अघि बढाइरहेको छ । नयाँ र आधुनिक स्टेडियमको निर्माण, पुराना स्टेडियमको नवीकरण र यातायात तथा सहरी पूर्वाधारको स्तरोन्नति शुरू भइसकेको छ ।

साउदीले विश्वकपका लागि १५ वटा स्टेडियमको सूची तयार पारेर काम अघि बढाएको छ । यीमध्ये ११ नयाँ निर्माण भइरहेका छन् भने ४ वटा पुराना स्टेडियमहरू स्तरोन्नतिका क्रममा छन् ।

यीमध्ये सबैभन्दा ठूलो र भव्य रियादस्थित किङ सलमान इन्टरनेशनल स्टेडियम हो, जुन निर्माणको चरणमा छ ।

२०३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यस स्टेडियममा करिब १ लाख दर्शक अट्न सक्नेछन् । उद्घाटन र फाइनलका मुख्य खेलहरू यस स्टेडियममा खेलाइने साउदीले जनाएको छ ।

त्यस्तै, रियादमै रहेको किंग फहद इन्टरनेशनल स्टेडियमको स्तरोन्नति हुँदैछ भने भने जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको पनि स्तरोन्नति भइरहेको छ ।

किद्दियास्थित करिब ५० हजार दर्शक क्षमता भएको प्रिन्स मोहम्मद बिन सलमान स्टेडियमको निर्माण अन्तिम चरणमा पुगेको छ । किद्दियालाई साउदीको मनोरञ्जन क्षेत्रका रूपमा चिनिन्छ ।

सबैभन्दा आधुनिक स्टेडियम निओमस्थित नयाँ बन्दै गरेको शहरमा हुनेछ । निओम शहर साउदीको सबैभन्दा महत्त्वाकांक्षी मेगाप्रोजेक्ट हो । साउदीले यससँगै अन्य दर्जनौं आयोजनामा काम गरिरहेको छ ।

साउदीले रियाद मेट्रो र क्षेत्रीय रेल सेवाको पनि उल्लेख्य विस्तार गर्दैछ, जसले प्रमुख खेल स्थललाई जोड्नेछ ।

'अरब न्यूज'का सन् २०२४ को पहिलो त्रैमासिकमा मात्रै साउदीले निर्माण क्षेत्रमा ३१ दशमलव ६५ अर्ब अमेरिकी डलर बराबरका ठेक्का लगाएको छ, जुन पूर्वाधार निर्माणका लागि उल्लेख्य रकम हो ।

आलोचनाका बावजुद पनि २०३४ को विश्वकप हरसम्भव सफल बनाउन साउदीले प्रयास गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्