
युएई, २८ कात्तिक- चार दिने राजकीय भ्रमणका क्रममा सोमवार युएई आईपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यहाँका मानवसंशाधन मन्त्री नासिर थानी अल हमेलीले स्वागत गरेका छन् । उनी एतिहाद एयरवेजमार्फत सोमवार साँझ आबुधाबी आइपुगेकी हुन् ।
त्यसक्रममा नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकेइ, युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्र टंडनलगायत दूतावासका कर्मचारी अबुधावी विमानस्थलमा उपस्थित थिए ।
अबुधावीका राजकुमार तथा युएई आर्म फोर्सका उपमहानिर्देशक शेख मोहम्मद विन जायद अल नाहायनले केहि महिना अघि ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा नेपालस्थित राजदूत साईद हमदान अल नाकेईमार्फत पठाएको निमन्त्रणालाई स्वीकार गर्दै राष्ट्रपतिको युएईको भ्रमण तय गरिएको हो ।
नेपाल र युएईको कुटनैतिक सम्बन्ध स्थापित भएको चालिस बर्ष पूरा पुगेको अवसरमा भएको राष्ट्रपतिको औपचारिक भ्रमणको बारेमा दूतावासले लोकान्तरलाई दिइएको जानकारी अनुसार आबुधाबिका राजकुमार शेख मोहम्मदसंग १४ नोभेम्बरका दिन औपचारिक भेटवार्ता हुनेछ ।
दुई देशको परस्पर हितमा आधारित रहेर गरिने उक्त भेटवार्तामा नेपाली श्रमिकहरुको हितको बारेमा पनि कुराकानी हुने जानकारी दूतावास श्रोतले दिएको छ ।
त्यसको भोलिपल्ट युएईमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ भने १६ नोभेम्बरमा उनी नेपाल फर्किने छिन ।