२७ जेठ २०८३, बुधबार
मोदीको कुवेत भ्रमण

४३ वर्षपछि कुवेतमा भारतीय प्रधानमन्त्रीको भ्रमण– इन्धनको मुद्दादेखि श्रम सम्बन्धसम्म

पुस ७, २०८१
काठमाडौं
४३ वर्षपछि कुवेतमा भारतीय प्रधानमन्त्रीको भ्रमण– इन्धनको मुद्दादेखि श्रम सम्बन्धसम्म

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कुवेतको दुईदिने औपचारिक भ्रमणमा निस्किएका छन् । ४ दशकपछि भारतका प्रधानमन्त्रीले पहिलोपटक कुवेत भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री मोदीको कुवेत भ्रमणले भारत र पेट्रोलियम पदार्थको मुख्य उत्पादक खाडी देश कुवेतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

चार दशकपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीको कुवेत भ्रमण भएकाले यसलाई ऐतिहासिक कदमको रूपमा हेरिएको छ ।

कुवेतसँग भारतको आर्थिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न यो भ्रमण महत्त्वपूर्ण रहेको विश्लेषकहरूको दाबी छ ।

मोदीले आफ्नो भ्रमणको पहिलो दिन शनिबार कुवेतका अमीर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहसँग भेट गरे ।

यस भेटपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले छलफल निकै फलदायी भएको भन्दै खुसी व्यक्त गरे ।

उक्त वार्तामा भारत-कुवेत सम्बन्धको वर्तमान अवस्था, क्षेत्रीय मुद्दा र भविष्यमा थप सहकार्यका सम्भावनाहरूको विषयमा छलफल भएको छ ।

भारतीय कामदारसँग अन्तरक्रिया

प्रधानमन्त्री मोदीले पहिलो दिन मिना अब्दुल्लाह क्षेत्रमा रहेको श्रम शिविर भ्रमण गरे, जहाँ ठूलो संख्यामा भारतीय कामदारहरू बस्ने गर्छन् ।

उनीहरूले मोदीलाई उत्साहजनक स्वागत गरे । मोदीले भारतीय कामदारहरूको मेहनत र कुवेतको विकासमा उनीहरूले दिएको योगदानको प्रशंसा गर्दै श्रमिकको हित रक्षा गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले कुवेतमा रहेका भारतीय आप्रवासीले आयोजना गरेको 'हल्ला मोदी' नामको सामुदायिक कार्यक्रममा पनि भाग लिए ।

कार्यक्रममा उनले कुवेतलाई 'मिनी इन्डिया'को संज्ञा दिँदै भारतीय डायस्पोराको योगदानको प्रशंसा गरे ।

उनले भारत-कुवेतको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न कुवेतमा रहेका भारतीय समुदायको महत्त्वपूर्ण भूमिकाको चर्चा गरे ।

भ्रमणको दोस्रो दिनका कार्यक्रम

प्रधानमन्त्री मोदी भ्रमणको दोस्रो दिन आइतबार उच्चस्तरीय बैठक र औपचारिक कार्यक्रमहरूमा व्यस्त छन् ।

बिहान बायन प्यालेसमा गार्ड अफ अनर ग्रहण गरेपछि उनले कुवेतका अमिर र युवराजसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि, कुवेतका प्रधानमन्त्री अहमद अल अब्दुल्लाह अल-सबाहसँग मोदीको भेट हुनेछ भने उक्त भेटमा देशबीचका समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणको अन्त्यमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जहाँ उनले भ्रमणका उपलब्धि र आगामी योजनाबारे जानकारी दिनेछन् ।

भारत-कुवेत कूटनीतिक सम्बन्ध

भारत र कुवेतबीच औपचारिक कूटनीतिक सम्बन्ध १९६२ मा स्थापना भएको हो ।

कुवेतले भारतलाई स्वतन्त्रता प्राप्तिपछि नै मान्यता दिएको थियो । यी दुई देशबीचको सम्बन्ध साझा इतिहास, सांस्कृतिक आदानप्रदान र आर्थिक साझेदारीमा आधारित छ ।

विशेषगरी खाडी क्षेत्रमा रहेका भारतीय कामदारहरूले भारत-कुवेत सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

व्यापार र आर्थिक सहकार्य

भारत र कुवेतबीच व्यापारिक सम्बन्ध सधैं मजबुत रहँदै आएको छ । कुवेत भारतको प्रमुख तेल आपूर्तिकर्तामध्ये एक हो ।

भारतले कुवेतबाट कच्चा तेल, पेट्रोलियम उत्पादन र अन्य ऊर्जा सामग्री आयात गर्छ भने कुवेतले भारतबाट कृषि उत्पादन, औषधि, प्रविधि र अन्य दैनिक उपभोग्य सामग्री आयात गर्छ ।

सन् २०२२ मा भारत र कुवेतबीचको द्विपक्षीय व्यापार करिब १२ अर्ब अमेरिकी डलर पुगेको थियो । यो सम्बन्धलाई अझ प्रगतिशील बनाउन दुवै देशले ऊर्जा, स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा सहकार्यका सम्भावनाहरू खोजिरहेका छन् ।

भारत र कुवेतबीचको सांस्कृतिक सम्बन्ध पनि लामो इतिहासमा आधारित छ । कुवेतमा करिब १० लाख भारतीय बसोबास गर्छन् । कुवेत भारतीय डायस्पोराका लागि प्रमुख गन्तव्य हो ।

भारतीय समुदायले कुवेतको स्वास्थ्य, शिक्षा र व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ ।

सम्बन्धमा चुनौती

भारत-कुवेत सम्बन्धमा कहिलेकाहीँ अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना भएका छन् ।

विशेष गरी, खाडी क्षेत्रको भूराजनीतिक अस्थिरता र ऊर्जा आपूर्तिमा देखिने उतारचढावले दुई देशबीचको आर्थिक सहकार्यमा कहिले बाधा पुगेको छ । साथै, कुवेतमा काम गर्ने भारतीय कामदारका अधिकार र सुरक्षासँग सम्बन्धित केही मुद्दाहरू बेला-बेलामा उठ्ने गरेका छन् ।

प्रधानमन्त्री मोदीको यो भ्रमण भारत र कुवेतबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण मानिएको छ ।

चार दशकपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीको कुवेत भ्रमण भएकाले यो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा लिएको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्