
कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन गर्न रवि लामिछानेले कृत्रिम व्यक्ति खडा गरेको पाइएको छ ।
रास्वपा सभापति लामिछानेले आफ्नो नाममा अरूले ऋण लिएकोमा आफू जिम्मेवार नहुने बताउँदै आएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा आइतबार गरेको अभियोजनमा लामिछानेले कृत्रिम व्यक्ति खडा गरेर काल्पनिक ठेगाना उल्लेख गराई १ करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ ।
‘प्रतिवादी रवि लामिछानेको नाममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ करोडको ऋण खडा गरेको गोश्वारा भौचर बरामद भएको, सोही कुरा सहकारी संस्था लिमिटेडको कम्प्युटरमा रहेको डिजिटल अभिलेख समेतबाट पुष्टि भएको र उल्लिखित तथ्य सहकारी संस्था लिमिटेडबाट बरामद भएको ऋण प्रवाहसम्बन्धी रजिष्ट्ररमा समेतमा उल्लेख गरेबाट निजले सहकारीबाट ऋण लिएको स्पष्ट देखिँदा सहकारी संस्थामा बचत अपचलन गर्नका लागि कृत्रिम व्यक्तिहरू खडा गर्ने, वास्तविक वतन उल्लेख नगरी काल्पनिक ठेगाना उल्लेख गरी/गराई सो बापत १ करोड बचत अपचलन भएको देखिन्छ,’ अभियोजन पत्रमा भनिएको छ ।

सूर्यदर्शन सहकारी ठगी सम्बन्धमा पोखरा महानगरपालिकाले गरेको छानबिनमा पनि लामिछानेको नाममा ऋण गएको देखिएको थियो । गोरखा मिडियाका अर्का सञ्चालक कुमार रम्तेलले सूर्यदर्शनको रकम रविकै नाममा गोरखा मिडियामा गएको बयानका क्रममा बताएका थिए ।
बुटवलको सुप्रिम सहकारीबाट आएको २ करोड रुपैयाँ निकाल्दा पनि रवि लामिछानेको नाम उल्लेख थियो, त ठेगाना लेखिएको थिएन । लामिछानेले त्यो ऋण लिएको व्यक्ति आफू नभएको दाबी गर्दै आएका थिए ।
अभियोग पत्रमा सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे आफू अनभिज्ञ रहेको भन्ने रविको दाबी खण्डन हुने उल्लेख छ ।
‘... निज सञ्चालक रहेको गोरखा मिडिया नेटवर्क प्रालिको सरकारी संस्थासँगको कारोबारको विषयमा आफू अनभिज्ञ रहेको विषय खण्डित हुने देखिन्छ । यी प्रतिवादीले गोरखा मिडिया नेटवर्क प्रालिमा अपचलन भई गएको रकममा आपराधिक दायित्व व्यहोर्नु पर्ने ...’ अभियोग पत्रमा उल्लेख छ
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएकाले उनको सांसद पद पनि निलम्बनमा परेको छ । सहकारी ठगीको छानबिनका लागि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।