२१ असार २०८३, आइतबार

काठमाडौंलगायत केही स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसममा सुधार हुने

पुस ९, २०८१
काठमाडौं
काठमाडौंलगायत केही स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसममा सुधार हुने

नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले मंगलबार देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौं उपत्यकालगायत केही स्थानमा सामान्य वर्षा भएको छ । काठमाडौंमा पनि साँझ सामान्य पानी परेको छ ।

आज मंगलबार राति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

भोलिदेखि भने मौसम सुधार हुँदै जाने पनि उनले बताए । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ ।     

बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू–भागमा बादल रहेको अर्यालले बताए । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उनको भनाइ छ ।   

‘खासै पानी परेको देखिँदैन । पश्चिममा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ’, मौसमविद् अर्यालले भने, ‘उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।’

बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको उनको भनाइ छ ।   यो बदलीले देशैभरि चिसो भने बढाउने अर्यालले बताए । ‘हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ’, अर्यालले भने । 

उनले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । 

salt training

कमेन्ट गर्नुहोस्