
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीले छोरी दीक्षा चौधरीको नाम एमबीबीएस अध्ययनका लागि निकालिदिन भनेर दिएको घूसका लागि जग्गा बेचेको खुलेको छ । उनले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ३८ लाख ८० हजार रूपैयाँ बुझाउनका लागि जग्गा नै बेचेको खुलेको हो ।
अनिलले रकम लिएको लिखित समेत गरेको पाइएको छ । वरिष्ठ कृषि प्रसार अधिकृतमा कार्यरत चौधरीले विराटनगर-१४ डिग्री क्याम्पस अगाडिको एक कट्ठा जग्गा बिक्री गरेर अनिललाई पैसा दिएको बताएका छन् । उनले त्यो एक कट्ठा जग्गा ४० लाखमा बिक्री गरेका थिए । सो जग्गा बिक्री गरेको पैसा २०७१ देखि २०७३ मा पटक–पटक गरेर बुझाएको बौआलाल बताउँछन् । सबै रकम बुझेपछि पोखरेलले विराटनगरमा आएर चेकको अर्धकट्टीमा हस्ताक्षर गरेको बौआलालले देखाए ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिनकै लागि रकम लिएको भन्दै लिखित हस्ताक्षर गरेका थिए । विभिन्न मितिमा चौधरीसँग सो रकम लिएपछि २२ मंसिर २०७३ मा चेकको अर्धकट्टीमा रकम बुझेको हस्ताक्षर गरेको पाइएको छ ।
‘तपाईंको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा भर्ना गराउन लाग्ने ३८ लाख ८० हजार रूपैयाँ चेकमार्फत बुझिलिएको छु’ लेखेर पोखरेलले हस्ताक्षर गरेका छन् ।
एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टेलमा राख्ने वातावरण बनाइदिने भन्दै पोखरेलले चौधरीबाट मोटो रकम लिएका हुन् । दीक्षाको नाम ननिस्किएपछि बौआलालले उजुरी गरेपछि हालै घटना सार्वजनिक भएको हो ।
चौधरीले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत ५० हजार रूपैयाँ बुझाएका थिए । पछि रामदेव सिंहमार्फत १ लाख रूपैयाँ नबिल बैंकमा रहेको अनिलको खाता जम्मा गरेको बैंक भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैंककै खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मंसिर २२ मा बौआलालले एकमुष्ट १८ लाख रूपैयाँ जम्मा गरिदिएका थिए ।
चौधरीका अनुसार पैसा लिएपछि अनिल करिब ३–४ महिना सम्पर्कविहीन भए । मोटो रकम लिएर पोखरेल सम्पर्कविहीन भएपछि थप तनाब भएको चौधरी सुनाउँछन् ।
‘सम्पर्क हुँदा कहिले अस्ट्रेलिया पुगेको छु भन्थे, कहिले क्यानडा’, चौधरीले भने, ‘एकातिर छोरीको डाक्टर बन्ने सपना उसको विश्वासमा पर्दा तुहियो भने ठूलो रकम पनि फस्ने देखिएपछि साह्रै तनाब भयो ।’
अनिलले कहिले सहकारीमा पैसा राखेको र चाहिएका बेला झिक्न मिल्ने बताउँथे भने कहिले क्यानडाबाट आफ्नो एक करोड रूपैयाँ आउन लागेको र आउनेबित्तिकै पैसा फिर्ता गर्ने आश्वासन दिन्थे । ‘पैसा नभएको बैंक खाताको चेक पनि दिन खोजेका थिए’, चौधरीले भने, ‘तर, मैले लिन मानिन ।’

एमाले मोरङको नवौं जिल्ला अधिवेशनलगत्तै चौधरीले एमाले पार्टी कार्यालयमा पनि निवेदन दिएका थिए । २०७८ पुस २४ गते एमालेको जिल्ला अधिवेशनले ऋषिकेश पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । चौधरीले त्यही पुस २७ गते एमाले पार्टी कार्यालयमा निवेदन दिए । तर, एमालेले भने निवेदनउपर कुनै छलफल समेत नगरेको चौधरीको आरोप छ ।
२०७९ साउन ९ मा भने हिसाब चुक्ता गरिदिन्छु भनेर अनिलले बौआलाललाई काठमाडौं बोलाएका थिए । तर, आफूले लिएको रकम दिनुको साटो उल्टो उनलाई ऋणी बनाएर जबर्जस्ती कागज गराए ।
‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु आउनुहोस् भनी बोलाए, आएँ । ८–१० जनाको समूहले २०७४ असार २५ गते आइतबारको मिति राखिएको कपाली लिखतमा ऋणी बनाई ५० लाख रूपैयाँको कागज बनाएर जबर्जस्ती हस्ताक्षर गराए’, बौआलालले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।
कीर्ते तमसुक बनाएर उल्टै आफूलाई ऋणी बनाएपछि चौधरीले ५० लाख ऋणको कपाली लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन प्रहरीमा पुगेका थिए । तर, अदालतमा बुझाए जति नै कागजात लिएर जाँदा पनि प्रहरीले प्रमाण नपुगेको भन्दै फिर्ता पठाइदिएको उनको आरोप छ ।
उनले २०७९ साउन १८ मा हुलाकमार्फत् प्रहरीलाई जाहेरी पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपनि जाहेरी दर्ता गरेन । त्यसपछि उनले अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र सरकारी वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगे ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले गत भदौमै अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दियो । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ ।
यसरी भएको थियो अनिलसँग चिनजान
बैआलाल २०७१ सालमा कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र झुम्का, सुनसरीको प्रमुख थिए । त्यसबेला बैआलालको साथी रामदेव सिंहमार्फत अनिलसँग चिनजान भएको थियो । चिनजानका क्रममै अनिलले आफ्नो ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको बताएका थिए । उनले एमबीबीएसमा सरकारी कोटामा नाम निकालिदिनका लागि आफूलाई कुनै समस्या नरहेको बताएका थिए । त्यसका लागि सबैतिर ‘मिलाउनुपर्ने’ भन्दै रकम अशुलेका थिए ।
अदालतको परमादेशपछि न्याय पाउने आशा जागेको बौआलाल बताउँछन् । ‘पैसा फिर्ताका लागि प्रहरी प्रशासनदेखि राजनीतिक दलका नेताको घरसम्म पुगें । तर, कतैबाट न्यायको ढोका खुलेन । धेरै ठाउँ, धेरै मान्छेलाई भन्दा–भन्दा थाकेको मान्छे हुँ’, बौआलाल भन्छन्, ‘अहिले अदालतले आदेश दिएको छ । न्यायको बाटो खुलेको छ । विश्वास छ अदालतले न्याय दिनेछ । ’
स्वकीय सचिवको ठगीबारे समाचार आएपछि लेखा समिति सभापति पोखरेलले स्वकीय सचिव अनिललाई पदबाट हटाएका छन् । उनले अनिलले ठगेको बारे आफूले सञ्चारमाध्यममा समाचार आएपछि मात्र थाहा पाएको समेत उल्लेख गरेका छन् । आफू एमाले जिल्ला अध्यक्ष हुँदै परेको उजुरीलाई उनले नजरअन्दाज गरिदिएका छन् ।