
नेकपा एमालेमा दिएको जिम्मेवारी पूरा नगर्ने नेताहरूको पहिचान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।
गाउँको जिम्मेवारी लिएर जाने तर शहरमै बस्नेहरूका कारण संगठन चलायमान नभएको भन्दै सदस्यहरूले उनीहरूको पहिचान गर्न सुझाव दिएका हुन् ।
‘पार्टी स्कूललाई जिल्लासम्मै सञ्चालन गर्नुपर्छ भन्नेमा धेरै साथीहरूले जोड दिनुभएको छ । पार्टीलाई आधारभूत रूपमा बलियो बनाउन, सबलीकरण गर्न जनता केन्द्रित सांगठनिक अभियान सञ्चालन गर्न नीति र तर कार्यान्वयन गर्ने कार्यक्रममा सदस्यहरूबाट धेरै सुझाव आएका छन्,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘गाउँको जिम्मेवारी लिने तर शहरमा बस्ने प्रवृत्ति बढ्यो । जिम्मेवार नेता काममा खटेका छन् कि छैनन् अनुगमन हुनुपर्यो भन्ने सुझाव धेरै आएका छन् ।’
जिल्ला र प्रदेशका इन्चार्जलाई प्रभावकारी रूपमा खटाउँदा अहिले देखिएको समस्या अन्त्य हुने गौतमले बताए ।
एमालेमा काम नगर्ने तर पार्टी कार्यालय र नेताको वरिपरी मात्रै घुम्नेले संगठनको शैलीलाई बिगारेको बारे पनि प्रश्न उठेको गौतमले बताए ।
उनका अनुसार सदस्यहरूले बोल्नेक्रम नसकिएपछि मंगलबार पुनः बैठक बस्ने छ।
‘सदस्यहरूले बोल्नेक्रम अझै सकिएको छैन । यसैले बैठक मंगलबारसम्म लम्बिने भएको छ,’ गौतमले भने, ‘भोलि अध्यक्षले प्रश्नको जवाफ दिनुहुन्छ । भोलि नै एमालेले समसामयिक विषयमा दृष्टिकोण तय गर्दै बैठक अन्त्य गर्छ ।’
एमालेमा केही पद प्राप्तिमा लागि गुटबन्दी जस्तो देखिए पनि विचारधाराका रूपमा गुटबन्दी नभएको गौतमले बताए ।