२१ जेठ २०८३, बिहीबार

विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

पुस २३, २०८१
नवलपरासी
विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम प्रदान गरेको छ । तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् । 

दुई महिनाअघि विद्यालयले कक्षा ६ देखि ९ सम्मका बाजा बजाउन इच्छुक ११ जना विद्यार्थीलाई तालिम प्रदान गरेको थियो । पञ्चेबाजा बजाउने तालिममा सहभागी १० वर्षीय विद्यार्थी होम थापाले बाजा बजाउन सिकेसँगै गाउँमा भएका तीन वटा कार्यक्रममा पञ्चेबाजा बजाएर आम्दानी गरेको बताए । 

ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिक्नुभएका थापाले भविष्यमा संस्कृति संरक्षणसँगै व्यावसायिक रूपमा यसलाई निरन्तरता दिने उनले बताए । 

शिक्षालाई सीपसँग जोड्ने योजनाअनुसार विद्यालयका विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोपराज कोइरालाले बताए । देवचुली नगरपालिकाको समन्वयमा विद्यार्थीलाई तालिम प्रदान गरिएको उनले जानकारी दिए । 

पञ्चेबाजा तालिमले शिक्षासँगै सीपलाई जोड्ने काम गर्नुका साथै सङ्कटमा रहेको पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष कोइरालाले विश्वास व्यक्त गरे । 'तालिम लिएपछि विद्यार्थीहरूमा सांस्कृतिक र कलासम्बन्धी सीप विकास भएको छ, साथै नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने प्रसाय भएको छ, यसले पञ्चेबाजा संरक्षण र कला, संस्कृतिमा प्रवर्द्धनमा सहयोग पुग्ने छ,' उनले भने । 

पहिलो चरणमा केही विद्यार्थीलाई मात्रै तालिम प्रदान गरिएको बताउँदै अध्यक्ष कोइरालाले क्रमशः अन्य विद्यार्थीको आवश्यकता र इच्छाअनुसार तालिम प्रदान गरिने जानकारी दिए । 

विद्यार्थीहरू अहिले समूह बनाएर बाजा सिक्ने र अध्ययनसँगै वरपरका  कार्यक्रममा बाजा बजाउन जाने गरेका छन् ।

विद्यार्थीहरूले अहिले पनि बाजा बजाउन सिक्ने कामलाई निरन्तरता दिइरहेका छन् । विद्यालयको प्रशिक्षकका रूपमा खटिएका भीमबहादुर परियारका अनुसार विद्यार्थीले राम्रोसँग पञ्चेबाजा बजाउने गरेका छन् । साना विद्यार्थीलाई आफूले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको उनले बताए । 

विद्यार्थीले बाजा बजाउन सिकेसँगै बाजा, कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन हुनुका साथै पुस्तान्तरण समेत भइरहेको प्रशिक्षक परियारले बताए । 

salt training

कमेन्ट गर्नुहोस्