२१ जेठ २०८३, बिहीबार

प्रदेश अस्पतालमा ‘घण्टी बज्ने’ नौ लाखको घडी !, बिरामीदेखि स्वास्थ्यकर्मीसम्मलाई ‘डिस्टर्ब’

पुस २३, २०८१
सुर्खेत
प्रदेश अस्पतालमा ‘घण्टी बज्ने’ नौ लाखको घडी !, बिरामीदेखि स्वास्थ्यकर्मीसम्मलाई ‘डिस्टर्ब’

कर्णाली प्रदेश सरकार मातहत रहेको कर्णालीकै सबैभन्दा ठूलो अस्पताल ‘प्रदेश अस्पताल’ पुग्दा अहिले धेरैलाई वीरेन्द्रनगरको घण्टाघरमा छु कि भन्ने आभास हुन्छ । किनकी त्यहाँ नौ लाख रूपैयाँ खर्च गरेर ‘घण्टी बज्ने’ चार वटा घडी जडान गरिएको छ । 

हरेक घण्टामा घडीमा जति बजेको छ, त्यति नै पटक जोडले घण्टी बज्ने गर्छ । यो घडीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा ध्वनी प्रदूषण त बढाएको छ नै, राज्यको लगानी कसरी अनुत्पादक क्षेत्रमा खेर गइरहेको छ भन्ने समेत देखाइरहेको छ।

‘मैले आफन्तलाई ल्याएर यहाँ उपचार गराइरहेको छु । यहाँ आउँदा एक्कासी जोडले घण्टी बजेको सुनेपछि म झसङ्ग भएँ’, दैलेखको गुराँस गाउँपालिका-३ का गगन खत्रीले भने, ‘अस्पताल क्षेत्र शान्त हुनुपर्ने हो । घण्टीवाला घडीले झन् होहल्ला भएको महसुस भयो ।’

उनले ध्वनी प्रदूषण गराउने घण्टी राख्नु भन्दा बरु हरेक वार्डमा सामान्य घडी राखेको भए बिरामीलाई सहज हुने बताए ।‘हरेक घण्टा जोडले घण्टी बज्छ । घण्टी बजेका कारण कोही बिरामीलाई निन्द्रा नै नलाग्ने समस्या हुन सक्छ । कसैलाई कारण अन्य समस्याहरू पनि थपिन सक्छन्’, उनी भन्छन्, ‘बालबालिका, वृद्धवृद्धा र यहाँ नजिकको वस्तीलाई समेत त्यो आवाजले डिस्टर्ब गर्छ ।’

null

जनरल वार्डमा उपचार गराइरहेका ५७ वर्षीय एक बिरामीले आफू अस्पतालमा भर्ना भएदेखि हालसम्म सुत्न नपाएको प्रतिक्रिया दिए । ‘निद्रा लाग्ला लाग्ला जस्तो भएको हुन्छ । जोडले घण्टी बजेपछि ‘डिस्टर्ब हुन्छ। रातभरि नै निद्रा लाग्दैन ।’ 

अहिले सबैको हातमा मोबाइल, घडी  हुने गरेको बताउँदै ती बिरामीले अस्पतालमा यस्तोखालको घडी किन राखेको हो भन्दै प्रश्न गरे । 

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार यो घडी जडान गरेको दुई हप्ता भयो । ‘यहाँ यो घडी राख्न आवश्यक नै थिएन । बरु कुरुवाका लागि बस्ने बेन्चहरू बनाएको भए, अस्पताल परिसरमा रहेको खाली क्षेत्रमा फलफूलका बिरुवा रोपेको भए हुन्थ्यो’, ती स्वास्थ्यकर्मी भन्छन्, ‘हामी बिरामीको उपचार गरिरहेको समयमा जोडले घण्टी बज्दा तर्सिनुपर्ने अवस्था सिर्जना भएको छ ।’

उनले अस्पताल प्रशासनसामु यस्तो कुरा राखे जागिर नै धरापमा पर्ने खतरा भएका कारण आफूहरूलाई चुप लाग्नुको विकल्प नभएको बताए । यो घडी अस्पतालका तत्कालीन निर्देशक डा. डम्बर खड्काको पालामा खरिद गरिएको थियो भने जडान चाहिँ हालका निर्देशक डा. केशर ढकालको पालामा भयो । 

डा. खड्का गत कात्तिक ९ गते अवकाशमा गएका थिए भने डा. ढकालले मंसिर ३ गतेदेखि कार्यभार सम्हालेका थिए । 

null

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बिरामी र कुरुवालाई समय थाहा होस् भनेर घडी राखिएको बताए । ‘बिरामी र कुरुवालाई समय थाहा होस् भनेर घडी राखिएको हो’, उनले भने, ‘त्यसका अलावा अस्पतालमा ‘घण्टी’ बज्ने घडी राख्दा नयाँ सन्देश प्रवाह हुने अपेक्षा गरेर राखिएको हो ।’

उनले घण्टीको आवाज भेलिबाटै पूर्ण रूपमा बन्द गरिने बताए । ‘यहाँहरूले उठाएको मुद्दा जायज छ’, उनले भने, ‘हामी भोलिबाटै आवाज पूर्ण रूपमा बन्द गराउँछौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्