
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा प्रतिवादी बनाईएका पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे फेरि प्रहरी हिरासतमा पुगेका छन् ।
उनी बयानका लागि आइतबार काठमाडौं जिल्ला अदालत पुगेका थिए । तर बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको हो ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकसमेत रहेका छविलालले सहकारीको रकम अपचलन गरेको अभियोग छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले छविलाई एकल रूपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।
उनकै पार्टनर एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर छुटिसकेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बयान नसकिएकाले अदालतले छविलाललाई प्रहरीको जिम्मा लगाएको बताए ।
उनले भने, ‘उहाँको बयान सकिएन, काठमाडौं प्रहरीको हिरासतमा राखेका छौं ।’