२२ असार २०८३, सोमबार

आमाले पकाएको जाउलो खाएर सुतेका प्रकाश सधैंका लागि अस्ताए

आमाले पकाएको जाउलो खाएर सुतेका प्रकाश सधैंका लागि अस्ताए

काठमाडौं, ३ मंसिर– चुनावी गतिविधीमै व्यस्त रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश पछिल्लो दुई–तीन दिनदेखि घरमै बसिरहेका थिए । स्वास्थ्यमा सामान्य समस्या देखिए पछि दाहाल काठमाडौंको लाजिम्पाटस्थित निवासमै बसेर आराम गरिरहेका थिए ।

घरका अरु सदस्य चाहिँ चुनावी प्रचारप्रसारमै व्यस्त थिए । प्रकाश आमा सीता दाहालसँग घरमै बसिरहेका थिए । सामान्य रुघाखोकी लागेपछि उनी चुनावी गतिविधी छोडेर घरमा आराम गरिरहेका थिए । उनले घरमै बसेर प्रचण्डको सचिवालयलाई व्यवस्थापन गरिरहेका थिए ।

प्रकाशको हृदयघातको कारण शनिवार राति निधन भएको छ । उनलाई विहान ४ बजे काठमाडौंको नर्भिक अस्पताल पुर्याइएको थियो ।  तर अस्पतालले अस्पताल ल्याउनभन्दा तीन घण्टा अघि नै हृदयघातका कारण उनको ज्यान गइसकेको जनाएको  छ ।

पारिवारिक स्रोतका अनुसार प्रकाशलाई सामान्य रुघा–खोकी लागेको थियो । उनले शनिवार राति सुत्ने बेलामा आफूलाई हल्का पेट दुखेको भनेर आमालाई भनेका थिए ।

छोराले पेट दुखेको भनेपछि आमाले उनलाई जाउलो पकाएर खुवाएकी थिइन् । प्रकाशलाई राति हृदयघात भयो । ढिलागरी अस्पताल पुर्याउँदासम्म दाहाल संसारबाट विदा भइसकेका थिए ।

प्रकाशले शनिवार राति झापाको विर्तामोडमा रहेका आफ्ना बाबु प्रचण्डसँग १५ मिनेट लामो कुराकानी पनि गरेका थिए । उनले चुनावी गतिविधिमै केन्द्रीत रहेका बाबुसँग आफूलाई हल्का बिसञ्चो भएको बताएका थिए । कुराकानीको क्रममा प्रचण्डले प्रकाशलाई सामान्य रुघाखोकी नै भएपनि अस्पताल जानुपर्ने  भनेर सुझाएका थिए ।

‘प्रचण्डले प्रकाशलाई रुघाखोकी नै भएपनि अस्पताल जानूपर्ने भनेर सम्झाउनुभएको रैछ,’ नर्भिक अस्पतालमा आएका एक माओवादी कार्यकर्ताले भने, ‘तर प्रकाशले सामान्य हो भनेका रैछन ।’

स्वास्थ्यमा खासै समस्या नरहेको भनेर प्रकाशले प्रचण्डलाई भनेका थिए । प्रकाशले  बरु चुनावी गतिविधि र आकलनहरुको बारेमा प्रचण्डलाई सुनाएका थिए ।

नर्भिक अस्पतालले चाहिँ दिउसो साढे १२  बजे पत्रकारसम्मेलन  गरेर प्रकाशको निधन बारे  जानकारी गराएको छ ।
नर्भिक अस्पतालका डाक्टर जयप्रकाश जैसवालले दाहालको अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि नै निधन भएको बताए । उनले दाहाललाई अस्पताल ल्याइँदा उनको शरीर कडा भएको, आँखाको नानी ठूलो भएको, ईसिजी गर्दा मुटुमा कुनै पनि गतिविधी नभएको बताए । 

प्रकाशको निधन भएपछि विभिन्न दलका नेता कार्यकर्ताहरु नर्भिक अस्पतालमा पुगेका थिए ।

प्रकाशले एक हप्ता अघि नर्भिक अस्पतालमै पुगेर होल बडी चेक अप पनि गराएका थिए । त्यो बेला उनको  अवस्था सामान्य थियो । अस्पतालले शरीरमा कोलेस्ट्रोलको मात्रा केही बढी  भए पनि  अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताएको बुझिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्