२९ असार २०८३, सोमबार

नेपाली कागज उद्यमीको प्रश्न : ‘कहिले छापिन्छन् नेपाली कागजमै दलका प्रचार सामग्री?’

मंसिर ४, २०७४
नेपाली कागज उद्यमीको प्रश्न : ‘कहिले छापिन्छन् नेपाली कागजमै दलका प्रचार सामग्री?’

इटहरी, ४ मंसिर – तमसुक र अन्य सरकारी प्रयोजनमा अनिवार्य प्रयोग हुने नेपाली कागज उत्पादनमा मोरङ सुन्दरहरैचाका बालकृष्ण धिताल पाँच वर्षदेखि सक्रिय छन् । ताप्लेजुङको तोक्ता र  धनुषाको बाबियोजस्ता कच्चा पदार्थ ल्याएर बनाइएको नेपाली कागज धिताल पूर्वका विभिन्न जिल्लामा निर्यात गर्छन् । 

मोरङको सुन्दरहरैचा नगरपालिकाकै एक्ला नेपाली कागज उद्यमी धिताल आफ्ना उत्पादन राजधानी काठमाडांैमा समेत पु–याउँछन् । २०६९ सालमा बेत्रावती हाते कागज उद्योगको नाममा सञ्चालित धितालको उद्योगले औसतमा एक महिनामा १५० कोरी नेपाली कागज उत्पादन गर्छ । 

एक कोरीको तीन केजी कागज हुने बताएका धिताल आफूले मासिक ४५० केजी नेपाली कागज निर्यात गर्ने बताउँछन् । दुई कट्ठा भूमिमा नेपाली कागज उद्यम गरेका धिताल भन्छन्, ‘माग धेरै आएको खण्डमा त्यसभन्दा धेरै निर्यात गर्न सकेपनि साधारणतया ४५० किलो कागज म  निर्यात गर्छु ।’

चुनावी प्रचार र घोषणापत्र नेपाली कागजमा छापे व्यापक नाफा 

मोरङ जिल्लामा बसेर निर्यातमूलक पहाडे कागज समेत भनिने नेपाली हाते कागज छाप्ने बालकृष्ण धिताल दलका मान्छेसँग भेट्दा एउटै प्रश्न गर्छन्, ‘कहिले छापिन्छ नेपाली कागजमै दलका प्रचारसामग्री ?’ 

चुनावी अभियानमा दलहरूले पनि नेपाली कागज पं्रयोग गरेमा धेरै राम्रो हुने बताउँछन् । ‘दलहरूले चुनावमा भाग हरेक वर्ष लिने हैनन्, तर आवधिक चुनावहरूमा नेपाली कागजमा प्रचार र घोषणापत्र छाप्दा सबैलाई फाइदा हुन्छ’, धिताल भन्छन्, ‘आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्ने दलहरूले चुनावमा मात्रै पनि नेपाली कागज प्रयोग गरेको देखिएन ।’ 

घोषणापत्र मात्रै हैन, दलका सदस्यता फारम र परिचयपत्र पनि नेपाली कागजमा तयार गर्न सकिने धिताल बताउँछन् । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ का बासिन्दा धितालले यो कुरा आफ्नो क्षेत्रमा उठेका वाम उम्मेदवार लालबाबु पण्डित र कांग्रेस उम्मेदवार डाक्टर शेखर कोइरालालाई यो सल्लाह दिन चाहेपनि आफूले चिनजान नभएर नपाएको उनी बताउँछन् ।  

कार्यकर्ताहरूमार्फत भने आफूले नेपाली कागजमै दलका पर्चा, पोस्टर र घोषणापत्रहरू छाप्न आग्रह गरेको धिताल बताउँछन् ।

‘आज राज्यले तमसुक र लेखापढीका केही कामहरू मात्रै नेपाली कागजमा गरेर यो लघु उद्योग केही धानिएको छ र कैयौं रोजगार समेत भएका छन्’, धिताल भन्छन्, ‘यदि दलहरूले आफ्ना कागजी कामहरू जत्ति सबै नेपाली कागजमा मात्रै गरे धेरै राम्रो हुन्थ्यो ।’ 

राज्य र दलहरूले अरू कागज प्रयाग नगर्दा बजारमा खासै फरक नपर्ने तर नेपाली कागज प्रयोग गरेको खण्डमा साना तथा मझौला हाते कागज उद्यमीहरू, त्यहाँका श्रमिकहरू र कृषकहरूलाइ धेरै राहत र मुनाफा हुने समेत धिताल बताउँछन् ।

पाँचजना स्टाफ समेत राखेर उत्पादन हुने आफ्नो कागज उद्योग दुई कट्ठा क्षेत्रको आफ्नै जमीनमा रहेको धिताल बताउँछन् । 

अत्यावश्यक कच्चापदार्थहरू लोक्ता, बाबियो, फ्रेम, कास्टिक सोडा, ब्लिचिङ पाउडर जस्ता केमिकलहरू पनि बाहिरैबाट आयात गर्ने धिताल बताउँछन् । 

एउटा तयार भएको कागजको तौल १५ ग्राम हुने बताएका उनी एक कागजको खुद्रा मूल्य १५ रुपैयाँ हुने बताउँछन् । होलसेल मूल्य भने ८ रुपैयाँसम्म मात्रै हुने धिताल बताउँछन् ।

बाहिरबाट आयात गरिएका कच्चापदार्थ भएपनि आफ्नो उद्योग निर्यातमूलक उद्योग भएकोमा धिताल खुशी छन् । भन्छन्, ‘विदेश जानेखालको मन भएको मान्छे म हैन, यही कागज उद्योगले मासिक पचास हजार रुपैयाँसम्म बचाएको छु ।’ 

कागज उद्योगको कमाइले नै आफू र परिवार पालिएको बताएका धिताल चुनावी कागजहरू नेपाली कागजमै बनेमा यो व्यापार तेब्बर बढ्ने बताउँछन् । 
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टी सदस्यता नेपाली कागजमा बनाएर राम्रो काम गरेको देखेको बताएका धिताल अरू ठूला दलहरूले पनि यसको सिको गरेमा आफूहरूलाइ धेरै राम्रो हुने बताउँछन् । निर्वाचन आयोगले निश्चित साना आकारमा मात्रै प्रचार सामग्री बनाउने आचारसंहिता बनाएकोले पनि नेपाली कागजहरू राम्रो विकल्प हुने धितालको भनाइ छ ।
   

‘सिधै किसानसँग कच्चापदार्थ किन्न पाए सस्तो उत्पादन’


धिताल आफ्नो निर्यात उद्योगमा १८ घण्टा दैनिक समय दिन्छन् र आफ्ना उत्पादनहरू निर्यात गर्छन् । तर आफूले किन्ने कच्चापदार्थहरू बिचौलियासँग मात्रै किन्नुपर्ने भएकोले अलिक असहज भएको उनको भनाइ छ । 

‘चाहे लोक्ता होस्, चाहे बाबियो होस् – सबै मैले किसानसँग सिधै किन्न पाएको छैन । व्यापारीकैबाट किन्नुपरेको छ’, धिताल भन्छन्, ‘यदि वनले सहयोग गरेर सिधै किसानबाट किन्न पाएमा उत्पादन मूल्य घट्थ्यो ।’ 

आफूले प्रयोग गरेको कच्चा पदार्थ किसानसँग किन्दा किसान, आफू र उपभोक्ता सबैलाई फाइदा हुने उनको भनाइ छ । 


अनुदान र निर्यातजन्य प्राविधिक सहयोगको अभाव


आफूले कृषिजन्य लघुउद्योग खोलेको पाँच वर्ष बितिसक्दा पनि धितालले न सरकारी सहयोग पाएका छन्, न कुनै एनजीओको प्राविधिक ज्ञान नै पाएका छन् । आफूले ४ लाखभन्दा बढीको लगानीमा खोलेको उद्योगले निर्यात गर्ने गरेपनि आफूले सोचेको सरकारी सहयोग नपाएको धितालको दुखेसो छ । 

‘यहाँ गैरकिसानहरूले किसानले पाउने कृषि अनुदान पाएको सुन्छु तर मजस्तो कृषिजन्य उद्योग गर्नेले केही पनि पाएको छैन’, आफनै उद्योग परिसरमा बोल्दै धितालले भने, ‘मिलेसम्मको हामीलाई अनुदान र विदेश निर्यात गर्नसक्ने थप गुणस्तरको कागज बनाउने प्राविधिक ज्ञानमात्रै सरकारी तवरबाट आएमा धेरै राम्रो हुन्थ्यो ।’ 

आफूले सरकारप्रतिको दायित्व पूरा गरेको भएपनि सरकार र दलहरूले गर्नुपर्ने दायित्व पर्खेको धितालको भनाइ छ । ‘मैले मेरो एकल प्रयासमा खोलेको यो लघुउद्योगबाट कर कार्यालय, घरेलु उद्योग र नगरपालिकालाइ कर तिरिरहेको छु’, धिताल भन्छन्, ‘अब राज्य , दल र स्थानीय सरकारले पनि आफ्नो दायित्व सम्झेर अनुदान र प्राविधिक सहयोग  गर्दै नेपाली कागजको प्रयोगमा वृद्धि गरेमा धेरै व्यापार बढेर रोजगारी पनि बढ्थ्यो ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्