
प्रहरीले सोमबार देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जना पक्राउ परे ।
पक्राउ पर्नेहरूमा कैलालीको टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय बिपिन साउद र बर्दिया गेरूवा गाउँपालिका-३ बस्ने २५ वर्षीय रिहान साउद रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौंतर्फ आँउदै गरेको लु २ ख ६९४० नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ पचगावाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ८० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ श्रृजनानगर बस्ने २३ वर्षीय सन्दिप मगर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, कपिलवस्तुको मायादेवी गाउँपालिका-४ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्रामसहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बुद्धनगर बस्ने २६ वर्षीय महेश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता, सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ९ ग्राम ७ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-१० बस्ने ४४ वर्षीय लिला बहादुर खड्की र सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय अजय कुमार साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३५८ नम्बरको हाइसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।