२५ असार २०८३, बिहीबार

निगम छिर्न भारतीको अनेक दाउ, अदृश्य  शक्तिबाट दबाब

माघ २३, २०८१
काठमाडौं
निगम छिर्न भारतीको अनेक दाउ, अदृश्य  शक्तिबाट दबाब

नेपाल वायु सेवा निगम भित्र प्रवेश गरेर महाप्रबन्धक बन्ने भन्दै हवाई उड्डयन क्षेत्रमा कुनै अनुभव नभएका व्यक्तिहरूको चलखेल बढेको छ । कांग्रेसका प्रभावशाली नेताको नाम लिँदै निगमको महाप्रबन्धक बन्नका लागि उड्डयन क्षेत्रभन्दा असम्बन्धित क्षेत्रका व्यक्तिहरूको चलखेल शुरू भएको हो ।

प्रेम आले पर्यटनमन्त्री बनेको समयदेखि चलखेलमा सक्रिय मनोज भारती नामका व्यक्ति अहिले फेरि निगमको नेतृत्व सम्हाल्न जाने भन्दै हिँडिरहेका छन् ।

पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री रहेको समयमा पनि भारतीले चलखेल गरेका थिए । भारतीले दिएको आर्थिक प्रलोभनको प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र हितबहादुर तामाङले सुनेनन् ।

हवाई व्यवस्थापन क्षेत्रमा उनीले सीता एयरमा कार्गो व्यवस्थापन गर्न ३ तहको जागिर खाएका थिए ।

उनले आफूलाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला निकट भनेर बाहिर प्रचार गर्ने गरेका छन् । 

पर्यटन मन्त्रालय स्रोतले भन्यो– ‘यतिसम्म कि शेखर कोइरालाको हालै भएको बेलायत भ्रमणका लागि टिकट लगायतको व्यवस्थापनको खर्च मैले व्यहोरेको हुँ भन्ने व्यक्ति नेवानिमा पुग्न धाइरहेका छन् ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतीको कुरा सुनेका छैनन् ।

कोइराला निकट स्रोतले त्यस्तो व्यक्तिसँग सम्पर्क नभएको लोकान्तरलाई बतायो । यस विषयमा भारतीसँग प्रतिक्रिया लिनका लागि उनले प्रयोग गर्ने (९८०९...७००) नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । विदेशमा रहेका उनले ह्वाट्सएपमा सम्पर्क गर्दासमेत प्रतिक्रिया दिन चाहेनन् । 

जर्जर आर्थिक अवस्थाबाट गुज्रेको निगमले भर्खर लय समात्न थालेको बेला फेरि राजनीतिक भर्ती गरेर निगमलाई डुबाउन नहुने पक्षमा मन्त्रालयको नेतृत्व रहेको बुझिएको छ ।

हालैका दिनमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले निगमले गरिरहेका कामको बचाउ गर्दै अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताएका थिए ।

समितिले निगमको अहिलेको व्यवस्थापनले अगाडि सारेका योजना कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।

कांग्रेस–एमाले गठबन्धन सरकार पनि कार्यकर्ता भर्तीका नाममा काम गरिरहेका संस्थानको नेतृत्व फेर्ने खेलमा नरहेको स्रोतहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्