‘सरकार ढल्यो–ढल्यो’ भनेर आफूलाई व्यंग्य गरेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाटै कटाक्ष गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका नेता प्रचण्डले आफूले दिएको अभिव्यक्तिलाई प्रधानमन्त्रीले गलत ढंगले व्याख्या गरेको दाबी गरेका हुन् । आफूले अप्राकृतिक ढंगले बनेको सरकार लामो जाँदैन भनेको उनको दाबी थियो ।
‘सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकार ढल्यो–ढल्यो भन्नुभयो । यदि आपसमा विश्वास भए यति महिनापछि सरकार देउवालाई हस्तान्तरण गर्छु, ७ दिन अगाडि छाड्नु भन्नुपर्ने थियो र ?’ ओलीलाई कटाक्ष गर्दै प्रचण्डले भने, ‘देउवाले नसुन्ने हो र ? दोहोर्याइरहनुपर्छ र ? शेरबहादुर देउवाका आँखा–कान तगडा छन् ।’
प्रचण्डले यसो भनिरहँदा संसद्मा रहेका देउवा मुसुमुसु हाँसिरहेका थिए ।
प्रचण्डले प्रधानमन्त्री ओली पार्टीमा जस्तै देशलाई पनि प्रश्नमुक्त बनाउन लागेकाले सत्ता साझेदार कांग्रेससँग आफ्नो प्रश्न रहेको बताए ।
‘ओलीलाई प्रश्न छैन, सामाजिक सञ्जाल विधेयकबारे के हो कांग्रेसको धारणा ? सत्ताकै लागि मात्र हो कि राजनीतिक दृष्टिकोण परिवर्तन गरिसकेको हो ? कि कांग्रेसलाई पनि प्रश्नमुक्त समाज चाहिएको हो ?’ प्रचण्डले प्रश्न गरे ।
संसद् सम्बोधनमा प्रचण्डले आफ्नो पार्टी सरकार गठन–विघटनको खेलमा नरहेको दाबी गर्दै आफ्नै खुट्टामा टेकेर सरकारको नेतृत्वमा पुग्ने दाबी गरे ।
विपक्षी दलको नेताले सम्बोधन गर्ने दिनमा प्रधानमन्त्री संसद्मा उपस्थित हुने परम्परमाविपरीत ओली संसद्मा उपस्थित नभएकोमा प्रचण्डले आपत्ति जनाए ।