
नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
ग्यास उद्योगीहरूले माघ ३० गतेदेखि फागुन २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । यही माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद नगर्ने संघले जनाएको छ ।
संघले उद्योगी र डिलरहरूको मुनाफा ५ प्रतिशतमा कायम गरी नघट्ने व्यवस्था गर्नेदेखि छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
राज्यले एकतर्फी ढंगबाट लगानी संरक्षणको सट्टा निरुत्साहित गर्ने रणनीति यथावत रहेमा उद्योग सञ्चालनलाई निरन्तरता दिन नसक्ने संघका अध्यक्ष शिव घिमिरेले बताए ।
फागुन १ गतेदेखि ५ गतेसम्म ग्यास उद्योगहरूले बिरोधका कार्यक्रमबारे सम्बन्धित उपभोक्तालाई जानकारी गराउने कार्यतालिका छ ।
फागुन ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने र नगराउने संघको घोषणा छ ।
फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने र फागुन १८ गते देशका ५९ उद्योगका माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने संघको चेतावनी छ ।
त्यसैगरी, फागुन २२ गतेदेखि देशभरका ग्यास बिक्रेता डिपोले सम्पूर्ण बन्द गर्ने संघको घोषणा छ ।