१४ असार २०८३, आइतबार

ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता जोशी पक्राउ

फागुन १, २०८१
काठमाडौं
ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता जोशी पक्राउ

ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् ।

उनलाई बिहीबार साँझ बानेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपील राज बोहोराले जानकारी दिए । यही घटनामा यसअघि दुई जना पक्राउ परिसकेका छन् । 

जोशीसहितको समूहले माघ २४ गते राति ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्दै सवारी साधनमा तोडफोड समेत गरेका थिए । उनीहरूको आक्रमणबाट प्रहरी दरबारमार्ग वृत्तका क्वीक रेस्पोन्स टिम (क्युआरटी)का प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्ट घाइते भएका थिए ।  

प्रहरीले यही प्रकणमा जोडिएका ताप्लेजुङका दिनश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई माघ २७ गते पक्राउ गरेको थियो । तर, जोशीले उन्मुक्ति पाएका थिए । जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्वअध्यक्ष हुन् । 

सत्ताको दबाबमा उनका विरुद्ध पक्राउ पुर्जी नमागेको भन्दै प्रहरीको आलोचना भएको थियो ।

हालै प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी लिई जोशीलाई समातेको हो ।

प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । प्रहरी हवल्दार घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्