०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

पुलिस कुट्ने विद्यार्थी नेता पक्राउदेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म

फागुन २, २०८१
काठमाडौं
पुलिस कुट्ने विद्यार्थी नेता पक्राउदेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् ।

उनलाई बिहीबार साँझ बानेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपील राज बोहोराले जानकारी दिए । यही घटनामा यसअघि दुई जना पक्राउ परिसकेका छन् ।
००००
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासबाट गर्नेगरी पेस गर्न आदेश दिएको हो ।
००००
किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । 

बिहीबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका हुन् ।
००००
विवादित धर्मगुरु विजय कृष्णमुर्तिले आगामी वैशाखमा पोखरामा गर्ने भनेको ‘कोटीहोम विराट ज्ञान महायज्ञ’को विषय अदालत पुगेको छ । 

पोखरा महानगरपालिकाले कोटीहोम गर्न नदिने भनेपछि मानव सेवा फाउण्डेसनले उच्च अदालत गुर्हायो । बिहीबार भएको सुनुवाइमा अन्तरिम आदेश फाउन्डेसनकै पक्षमा आएको छ ।
००००
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।       

नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले बिहीबार शपथ ग्रहण गराएका हुन् । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो । नाम नयाँ शक्ति भएपनि महाधिवेशनले पुरानै नेतृत्व चयन गरेको हो । 
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र सङ्घर्षको परिणामले अहिले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन् । 

गुल्मीको धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताए ।
००००
नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्नका लागि ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत गरिएको छ । 

करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए ।
००००
आगामी चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने भएको छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन (चैत २ गते)देखि उपभोक्ता अदालत सञ्चालनमा आउने भएको हो ।  

माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं ललितपुर र भक्तपुरभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई राजपत्रमा प्रकाशित भैसकेको छ ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपील गरेका छन् । 

एक सन्देश जारी गर्दै मन्त्री पौडेलले नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्