३२ असार २०८३, बिहीबार

सरसर्ती २४ घण्टाः भ्रष्टाचार निवारण विधेयक पारित, मिसन जान चलखेलको घटनामा छानबिन

फागुन ६, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टाः भ्रष्टाचार निवारण विधेयक पारित, मिसन जान चलखेलको घटनामा छानबिन

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार अन्त्य गर्न विधेयक ल्याउनुपरेको प्रष्ट पारे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सभासमक्ष ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गरेका थिए ।
००००
‘नेपाल प्रहरी विधेयक, २०८१  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।     

विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई सङ्घीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए ।
००००
सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको उल्लेख गर्दै दर्ता भएको अवहेलना निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश गरेको छ । 

न्यायाधीशहरू सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सात दिनभित्र लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल राख्न आदेश गरेको हो ।
००००
नेपालस्थित भारतीय दूतावासले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तरको सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको बताएको छ । 

भारत सरकारले आफ्नो देशमा रहेका नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चितका लागि आवश्यक सबै कदम चाल्ने पनि दूतावासको भनाइ छ । 
ओडिशाको भुवनेश्वरमास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति दूतावासले दुःख व्यक्त गरेको छ ।  यस कठिन घडीमा यस दूतावासले मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । यस्तै नेपाल सरकारले घटनाका सम्बन्धमा कूटनीतिक पहल भइरहेको जनाएको छ । 
००००
संयुक्त राष्ट्र संघीय शान्ति मिसन (यूएन मिसन)मा जानका लागि प्रहरीका नक्कली सहायक निरीक्षक (असई)लाई रकम बुझाएको घटनामा सशस्त्र प्रहरीका ८ जनामाथि छानबिन शुरू भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयकै आग्रहमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिले ति नक्कली प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भने आठै जनामाथि छानबिन गरिरहेको छ ।
००००
नेपाल प्रहरीमा अनुसन्धान अधिकृतहरूको (मुद्दा शाखामा कार्यरत) संख्या कम हुँदा कार्यसम्पादनमा असर परिरहेको छ ।

 प्रहरीमा आउने मुद्दाको संख्या बढ्दै गएको तर, जनशक्ति त्यसअनुरूप नहुँदा प्रहरीको कार्यसम्पादनमा मात्र होइन सेवाग्राहीलाई पनि असर परिरहेको छ । प्रहरीका अनुसार हाल कूल जनशक्तिको ४.६ प्रतिशत मात्रै अनुसन्धान अधिकृतहरू छन् ।
००००
शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा कायम भएको छ ।
००००
कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्