१६ असार २०८३, मंगलबार

केआईआईटी विश्वविद्यालयले माफी माग्यो, दुई कर्मचारी सेवाबाट हटाइए, तीन निलम्बन

फागुन ६, २०८१
काठमाडौं
केआईआईटी विश्वविद्यालयले माफी माग्यो, दुई कर्मचारी सेवाबाट हटाइए, तीन निलम्बन

भारतको उडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी मागेको छ । विश्वविद्यालयमा आइतबार भएको घटनाप्रति दु:ख व्यक्त गर्दै दोस्रोपटक माफी मागिएको हो । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो । 

मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षामा पुन: प्रतिबद्धता जनाएको छ । 

‘केआईआईटी सधैं विद्यार्थीहरूको घरजस्तै रहँदै आएको छ । जहाँ समावेशीकरण, सम्मान र माया गर्ने संस्कृति विकसित गरिएको छ’, विश्वविद्यालयका रजिस्ट्रारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी पछिल्लो घटनाबाट निकै दुःखी छौं र हाम्रा प्रिय नेपाली विद्यार्थीहरूसहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षाको प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छौं।’

null

आइतबार विश्वविद्यालय परिसरमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएका थिइन् । यो घटनापछि नेपाली विद्यार्थीले विश्वविद्यालयमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि उनीहरूलाई दुर्व्यवहार गर्दै कलेजबाट निकालिएको थियो ।

तर, घटनाको चौतर्फी विरोध भएपछि र नेपालका तर्फबाट कूटनीतिक पहल थालिएपछि विश्वविद्यालयले नेपाली विद्यार्थीको सुरक्षाको प्रतिबद्धता जनाउँदै कलेज फर्किन अपिल गरेको थियो ।

घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई जना सुरक्षा कर्मचारीहरूलाई तुरुन्तै सेवाबाट हटाइएको जनाएको छ । साथै, दुई जना वरिष्ठ छात्रावास अधिकृत र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयले माफी पत्र जारी गर्दै दुई जना अधिकृतले गरेको व्यवहार र टिप्पणी निकै गैरजिम्मेवारपूर्ण रहेको जनाएको छ ।  

null

‘ती टिप्पणीहरू व्यक्तिगत आवेगमा व्यक्त गरिए पनि विश्वविद्यालय प्रशासन ती विचारहरूसँग सहमत छैन । तसर्थ, ती दुई अधिकृतहरूलाई सेवाबाट हटाइएको छ । उनीहरूले पनि आफ्नो व्यवहारका लागि माफी मागेका छन्’, विश्वविद्यालयले भनेको छ, ‘हामी सबै घटनाका लागि माफी चाहन्छौं र नेपालका सम्पूर्ण विद्यार्थीहरू तथा जनताप्रति हाम्रो माया र सम्मान व्यक्त गर्न चाहन्छौं। हामी नेपालका विद्यार्थीहरूलाई भारत तथा विश्वका अन्य विद्यार्थीहरूजस्तै नै माया गर्छौं। साथै, हामी पुनः नेपाली विद्यार्थीहरूलाई तुरुन्तै नियमित शैक्षिक गतिविधिमा फर्कन अनुरोध गर्छौं।’

नेपाली विद्यार्थीहरूलाई फर्कन सहज बनाउनका लागि केआईआईटी क्याम्पस २४सै घण्टा सञ्चालन हुने ‘नियन्त्रण कक्ष’ स्थापना गरिएको जनाइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्