
भारतको उडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिको अध्ययन र सुरक्षा समन्वय गर्न नेपाल प्रहरीको टोली उडिसा पुगेको छ ।
नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट प्रहरीका दुई जना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुगेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।
विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई सरकारको तर्फबाट नियमित रूपमा फलोअप गरिरहेको उनले बताएकी छन् ।
‘मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु’, परराष्ट्रमन्त्री देउवाले भनेकी छन् ।
घटनापछि नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको उनको भनाइ छ । सोमबारको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको र नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराइसकेको मन्त्री देउवाले बताएकी छन् ।
‘यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्’, मन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।