
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सहकारी ठगी सम्बन्धमा सरकारले गरिरहेका कारबाहीलाई प्रतिशोध भन्ने रास्वपाको आरोप गलत रहेको बताएका छन् । सभापति रवि लामिछानेले दोहोरो नागरिकता राखेको विषयमा समेत बोल्न उनले रास्वपालाई चुनौती दिए ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बास्कोटाले सहकारीमा बेइमानी र ठगी भएको संसदीय छानबिन समितिको निष्कर्षका आधारमा सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको बताएका हुन् ।
‘नयाँ भनिएका दलले सबै कुरा कांग्रेस-एमालेले बिगारे भन्नु हुन्छ । मेरो सामान्य प्रश्न छ, जनताको पनि प्रश्न छ– सहकारीमा बेइमानी, ठगी भएको कुरा के अरुले छानबिन गरेर निष्कर्ष निकालेको कुरा हो ? त्यति कुराको हेक्का छ/छैन ?,’ बास्कोटाले भने, ‘प्रतिशोध भन्ने हो भने दुई वटा देशको नागरिकता बोकेर हिँडेको अहिलेसम्म कारबाही भएको छैन । एउटा देशको नागरिकता छाडेको प्रमाण पेश गरेको खोइ ? जनताले उठाएको, ठगी भएको विषयमा कसरी प्रतिशोध भयो ?’
बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सहकारी ठगीको पक्षमा उभिने कि विपक्षमा भन्ने निर्णय गर्न चुनौती दिए । उनले भूमिसम्बन्धी अध्यादेशमा माओवादीले गरिरहेको विरोधलाई नौटङ्कीको संज्ञा दिए ।
‘भूमिमा सामन्तवादी अवशेष बाँकी राखेर समाजवादको माला लगाए मन्त्र जप्दै हिँडि राख्ने हो वा यो समस्याको समस्या समाधान गर्ने हो ? वा चुनावको लागि मसला बनाउने ? कि जनताको समस्या जस्ताको जस्तै राख्ने नौटङ्की गर्ने हो ?,’ बास्कोटाले माओवादीसँग प्रश्न गरे ।