२८ असार २०८३, आइतबार

एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो

फागुन १४, २०८१
काठमाडौं
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो

धनगढीको फाप्ला मैदानमा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । आज भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधि जितेको हो । 

उपाधिसँगै भिमदत्तले नगद रू दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुनर्वासले रू एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । 

 भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले तीन विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका ‘बी’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनायो । 

पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । चालीस बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले । त्यस्तै कप्तान विपीन रावल ३८ रन, सुवास ऐर १८ रन, नवयुग बस्नेतले १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउँट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु, किरन चन्द, सन्तोष भट्ट र समिर विष्टले समान एक÷एक विकेट लिए ।

प्रतियोगितामा भिमदत्त नगरपालिका अरूण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद रू २५ हजार प्राप्त गरे । उनी दुई खेलमा ‘प्लेर अफ दि म्याच’ भएका थिए भने प्रतियोगितामा उनले रू १० विकेट लिएका थिए । पुनर्वास नगरपालिका दीपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद रू १५ हजार प्राप्त गरे ।

 उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए । त्रिवेणी नगरपालिकाका दीपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद रू १५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद रू १० हजार प्राप्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्