
सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् ।
सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएको सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे ।
‘उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु’, उनले भने ।
सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव डा संगीता कौशल मिश्रको पदोन्नती नगराइएकोमा सरकारसँग जवाफ मागिन् । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरूसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए ।
सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानूनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरूलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखे ।
सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै निर्माण गर्नुपर्नेमा जोड दिइन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागूऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरे ।
बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखे ।